स्पेनिस ला लिगा: एट्लेटिको म्याड्रिडको सानदार जित

एजेन्सी । साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३-० गोलले हरायो ।

एट्लेटिकोको जितमा यान्निक कारास्को र जोआओ फेलिक्सले गोल गरे । एट्लेटिकोले अर्को गोल आत्मघाती उपहार पाएको थियो । यान्निक कारास्कोले २६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको एट्लेटिकोले ६३औं मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रतालाई दोब्बर बनायो । बल बचाउने क्रममा बेटिसका जर्मन पिज्जेलाको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ८०औं मिनेटमा जोआओ फेलिक्सले यान्निक कारास्कोको पासमा गोल गर्दै एट्लेटिकोलाई सानदार जित दिलाए ।

बल पोसेसनमा अब्बल देखिएको बेटिसले गोलरहित हार खेप्यो । ५३ प्रतिबल बल पोसेसन राखेको बेटिसले आठ वटा पोस्ट प्रहार गरेको थियो । तर बेटिसले एट्लेटिकोको रक्षापंक्ति चिर्न सकेन । एट्लेटिकोका मिडफिल्डर यान्निक कारास्को ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । ११ खेल सकेको एट्लेटिकोको २२ अंक छ । पराजित बेटिस २१ अंक सहित पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक पुगेको छ ।

आइतबार रातिनै भएको खेलमा रियल सोसिडाड १० खेलाडीमा समेटिएको एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो । सोसिडाडका लागि अलेक्जेन्डर इसाकले गोल गरे । बिल्बाओका इकर मुनियनले बराबरी गोल फर्काए ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सोसिडाडले सुरुवाती अग्रता लिएको थियो । ५८औं मिनेटमा अलेक्जेन्डर इसाकले पेनाल्टी मार्फत गोल गरे । त्यसपछि ८४औं मिनेटमा इनिगो मार्टिनेज (दोहोरो पहेँलो) रातो कार्ड पाउँदै बाहिरिएपछि बिल्बाओ १० खेलाडीमा समेटियो । तरपनि इन्जुरी समयमा इकर मुनियनले गोलगर्दै बिल्बाओलाई हारबाट जोगाए । सोसिडाडका माइकल मेरिनो ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई एक अंकले पछि पारेको छ । रियलको ११ खेलबाट २४ अंक छ । तेस्रो स्थानमा रहेको सेभियाको पनि २४ अंक छ । १८ अंक बनाएको बिल्बाओ आठौं स्थानमा उक्लिएको छ । अर्को खेलमा गेटाफेले स्पान्योललाई २–१ गोलले पराजित गरेको छ । क्याडिज र मालोर्काले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स