ओसासुनासँग बराबरीमा रोकियो रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन ।

३१औं मिनेटमा भिनिसियस जुनियरको शसक्त प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेर्रेराले विफल पारेका थिए । ४४औं मिनेटमा इडुआर्डो कामाभिङ्गाको शसक्त हेड प्रहारमा पनि ओसासुनाका गोलरक्षक सर्जियो बाधक बने । ६२औं मिनेटमा कप्तान करिम बेन्जेमाको पोस्ट छेउको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

७५ प्रतिशत बल पोसेसन राखेको रियलले ओसासुनाको डिफेन्स लाइन चिर्न सकेन । खेलभर १७ वटा पोस्ट प्रहार गरेको रियल अन्ततः गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । डिफेन्सिभ रणनिति अपनाएको पाहुना टोली ओसासुना आफ्नो रणनितिमा सफल बन्यो । ओसासुनाले खेलभर सातवटा फितलो पोस्ट प्रहार गरेको थियो । ओसासुनाका मिडफिल्डर डेभिड गार्सिया ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । १० खेलमा ६ जित, तीन बराबर र एक हार खेपेको रियलको २१ अंक छ । ११ खेलबाट १९ अंक बनाएको ओसासुना छैटौं स्थानमा उक्लिएको छ ।

बुधबार राति नै भएको अर्को खेलमा बार्सिलोनालाई रायो भालेकानोको नमिठो झट्का लागेको छ । बार्सिलोना रायो भालेकानोसँग १–० गोलले स्तब्ध बन्यो । घरेलु मैदानमा रायो भालेकानोलाई जिताउन राडामेल फाल्काओले ३०औं मिनेटमा गोल गरे । फाल्काओले ओस्कार ट्रेजोको पासमा गोल गरेका थिए । ६९ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बार्सिलोनाले गोल गर्न सकेन ।

जितसँगै पाँचौं स्थानमा उक्लिएको रायो भालेकानोको ११ खेलबाट १९ अंक पुगेको छ । लगातार दोस्रो हार खेपेको बार्सिलोना १५ अंक सहित नवौं स्थानमा छ । यसअघि ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोना रियल म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो ।

अर्को खेलमा सेभिया १० खेलाडीमा समेटिएको मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको छ । मालोर्काको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्काले सुरुवाती अग्रता लिएको थियो ।

२२औं मिनेटमा एन्टोनियो सान्चेजले गोल गर्दै मालोर्कालाई अग्रता दिलाए । ७३औं मिनेटमा सेभियाका इरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा जउमो कोस्टा रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै सेभिया दोस्रो स्थानमा उक्लिएको छ । २१ अंक बनाएको सेभिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । १३ अंक बनाएको मालोर्का १२औं स्थानमा छ ।

तेस्रो स्थानमा रहेको रियल बेटिसको पनि २१ अंक छ । बुधबार राति नै भएको खेलमा बेटिसले भ्यालेन्सियालाई ४–१ गोलले स्तब्ध बनाएको हो । पराजित भ्यालेन्सिया १३ अंक सहित ११औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स