काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।
मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि २० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।
कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गरेको थियो । अवार्डको साथै मल्ललाई .१ लाख १ हजार रुपैयाको चेक प्रदान गरिएको छ ।
त्यसै गरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० जाहार बराबरको ट्रेनिङ स्कलरशिप पनि प्रदान गरिएको छ । यो स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्घ छन् । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।
स्कुलका चेयरपर्सन रञ्जित आचार्यज्युले भने, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिवद्ध रहेको छ । वार्षिक रुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौँ । कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।