नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो ।

मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले नौ, मुहमद अमिरले १६ तथा विजय उन्नीले तीन रनको योगदान गरे ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १÷१ विकेट झारे ।

त्यस्तै, ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।

ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।

त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे ।

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।

लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।

मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स