डि जोङको गोलले हारबाट जोगियो बार्सिलोना

एजेन्सी । बार्सिलोना इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० र स्पान्यालले नौ खेलाडीमा खेल सकेको थियो । घरेलु मैदानमा स्पान्योलका सर्गी डार्डेर र राउल डे टोमसले गोल गरे । बार्सिलोनाका पेड्री र लुक डि जोङले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । दोस्रो मिनेटमै पेड्रीले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि ४०औं मिनेटमा सर्गी डार्डेरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले राउल डे टोमसको पासमा गोल गरेका थिए ।

६४औं मिनेटमा राउल डे टोमसले सर्गीको पासमा गोल गर्दै स्पान्योललाई अग्रता दिलाए । अन्तिम समयमा खेल तनावपूर्ण बन्यो । इन्जुरी समयमा विवादमा उत्रिएपछि बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

इन्जुरी समयकै छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । ८८औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका डि जोङले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए । लगत्यै मनु मोर्लानेसलाई रेफ्रीले सोझै रातो कार्ड देखाएपछि स्पान्योलले नौ खेलाडीमा खेल सकेको थियो ।

६४ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई हार जोगाउन हम्मे हम्मे परेको थियो । स्पान्योलका राउल डे टोमस ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २३ खेलबाट ३९ अंक छ । समान ३९ अंक बनाएको एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । एक खेल बढी खेलेको स्पान्योल २८ अंक सहित १३औं स्थानमा छ ।

आइतबार रातिनै भएको खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले १० खेलाडीमा समेटिएको लिभान्तेलाई ४–२ गोलले हरायो । जितसँगै बेटिसले २४ खेलबाट ४३ अंक बनाएको छ । पराजित लिभान्ते ११ अंक सहित अन्तिममा छ ।

दोस्रो स्थानमा रहेको सेभियाको ५० र शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । अन्य खेलमा सोसिडाडले ग्रानाडालाई २–० तथा अलाभेसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स