नेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम छन्ः खेलकुद मन्त्री अथक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन् ।

‘हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं’ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भने, ‘हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।’

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनीति गरिनु दुःखद भएको उल्लेख गरे । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै मन्त्री अथकले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनीति मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दावी गरे

‘अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो’

यसैबिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको मन्त्री अथकले बताएका छन् । ‘राखेपको सन्दर्भमा आदेश त अल्पकालिन थियो तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।’ मन्त्री अथकले भने, ‘खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।’

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई प्राथमिकतामा राखेर हेरीनुपर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री अथकले असन्तुष्टि जनाए । ‘यो रमेश सिलवालको विषय मात्र हैन, अथवा टंकलाल घिसिङको विषय मात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।’ अथकले भने, ‘अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।’

उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा समेत व्यक्त गरे ।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलकालागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्दामा बहस भएन । उक्त मुद्दा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा मन्त्री अथकसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स