एजेन्सी । कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
रियलको जितमा दुवै गोल बेन्जेमाले गरे । बिल्बाओका ओइहान सान्सेटले सान्त्वना गोल फर्काए । तीनवटै गोल खेलको सुरुवाती १० मिनेट भित्र भएको थियो । रियलले चौथो मिनेटमै खाता खोलेको थियो ।
बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । सातौं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । जारी लिगमा उच्च लयमा रहेका बेन्जेमाको यो १५औं गोल हो । बिल्बाओले १०औं मिनेटमा गोल फर्कायो । ओइहान सान्सेटले ओस्कार डि मार्काेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन । ६० प्रतिशत बल पोसेसन राखेपनि रियलको जितमा पहिलो हाफकै नतिजा प्रयाप्त बन्यो । कोरोना संक्रमणका कारण रियल टोलीका ११ खेलाडीबिनै बिल्बाओसँग भिडेको थियो । तरपनि बिल्बाओले त्यसको फाइदा उठाउन सकेन । रियलका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । रियलको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित बिल्बाओ २४ अंक सहित १०औँ स्थानमा छ ।
बुधबार रातिनै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडलाई ग्रानाडाको नमिठो झट्का लागेको छ । एट्लेटिको ग्रानाडासँग २–१ गोलले पराजित भयो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।
खेलको दोस्रो मिनेटमै जोओओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ग्रानाडाका डार्विन माचिसले १७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६१औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाएका थिए ।
६० प्रतिशत बल पोसेसन राखेपनि दोस्रो हाफमा गोल फर्काउन नसक्दा एट्लेटिको हार खेप्न बाध्य बन्यो । जितसँगै ग्रानाडा १२औं स्थानमा उक्लिएको छ । ग्रानाडाको १८ खेलबाट २२ अंक पुगेको छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौ स्थानमा छ ।
विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।
त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।