साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, जनही ५ लाख प्रदान

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगद सहित सम्मान गरेका हुन् ।

सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनकालागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।

सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहका छन् । उनीहरुले जनही ५ लाख नगद तथा सम्मानपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र प्रशिक्षकद्धवय किरण श्रेष्ठ र बिकाश मल्ललाई समेत जनहि ३ लाख नगद सहित सम्मानपत्र उपलब्ध गराईएको छ । प्रतियोगितामा सहभागी अफिसियललाई समेत प्रमाणपत्रले सम्मान गरीएको छ ।

खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । खेलाडीहरुले खेलको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खुसी समेत ब्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरु स्वतः पुरस्कृत हुने गरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गर्दै मन्त्री अथकले सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।

‘सम्मानसँगै तपाईहरुको काँधमा थप जिम्मेवारी आएको छ । पुरस्कार तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अथकले भने, ‘खेल क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्नुहोस ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स