नेपालमा अहिलेसम्म ४१ पटक हेलिकप्टर दुर्घटना, ९८ जनाको मृत्यु

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा अहिलेसम्म ४१ पटक हेलिकप्टर दुर्घटना भएका छन् । जसबाट ९८ जनाको मृत्यु भैसकेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आजको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१ औं दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । उनले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए । उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गरे ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ  ।
भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको होे ।
नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो ।
नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो । त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो ।
प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ ।
अनुभवी पाइलट थिए–कसरी भयो दुर्घटना ?
        बुधबार दिउँसो एयर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छोडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौँ ल्याउने  योजना थियो । तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला प¥यो ।
एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करिब सात हजार घण्टा उडान भर्नुभएको थियो । लोड पनि धेरै थिएन । चार जना मात्रै यात्रु थिए । तर पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् ।
“दुर्घटना अप्रत्यासित छ, आजको मौसम सफा थियो । काठमाडौँमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौँबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर, पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भने, “काठमाडौँको नजिकै जुनकिसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौँ ।”
सूचना अधिकारी भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय हो भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताए । “अब, यहाँ कर्मसियल कुरा हैन कि एयरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौँ”, उनले भने, “हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एयरलाइन्सको सेफ्टी अडिट इन्भिेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ ।”
हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जियो
      एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा आज भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।
“आजसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने सङ्केत गरेको छ”, उनले भने, “हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा केके काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ ।”
बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताउनुभयो । “दुई सातामै दुई वटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ”, उहाँले भन्नुभयो, “नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।”
        विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो ।
हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल
यही साउन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले मुलुकको हवाई सुरक्षाबारे केन्द्रित भई छलफल गर्नुभएको थियो । कांग्रेस सांसद राजेन्द्र बजगाईंका अनुसार उक्त छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।
        यस्तै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही साउन १० गते भएको बैठकले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समितिसमक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिका सभापति राजकिशोर यादवले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि बैठकले पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गरेका थिए ।
तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराउनुभएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाइसेवा प्रदायक दुवै सेवा दिँदै आएको छ । नियामक र सेवा प्रदायकगरी अलगअलग निकायका रूपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ । विसं २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको हो । सिबी अधिकारी, रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स