काठमाडौंको कमलपोखरी यतिबेला निकै आकर्षक बनेको छ । पोखरी परिसर छेउमा निलो रंगको ज्याकाराण्डा फूल ढकमक्क फुलेको छ । कमलपोखरीमा मात्र होइन काठमाडौं उपत्यकाका धेरै सडक किनारामा ढकमक्क ज्याकाराण्डा फूल फुलेर रंगिएको देखिन्छ ।
चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ । यो फूललाई सानो हुँदा भँगेरी फुल पनि भन्ने गरिन्छ । यसको पात शिरिषको पातसँग धेरै मिल्ने भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंका मालीहरूले भने भँगेरी फूललाई ‘चखुँचा स्वाँ’ अर्थात् भँगेरी फूल भन्ने नाम दिएका थिए । हुन पनि ज्याकाराण्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेराको आकृति निर्माण हुन्छ ।
बिक्रम संम्बत २०३३ सालकै अभिलेख अनुसार त्यतिबेला पोखरीको क्षेत्रफल ३० रोपनी ५ आना ३ पैसा १ दाम थियो । नापी विभागमा दर्ता हुनु अगावै वि.सं. २०३३ सालमा कमल पोखरीको क्षेत्रफल ४६ रोपनी रहेको थियो । तर, हाल २३ रोपनी १४ आनामा खुम्चिएको छ । ६ करोड ३६ लाखको लागतमा निर्माण सम्पन्न भएको यो पोखरी वास्तुशास्त्रको आधारमा निर्माण गरिएको हो ।
पोखरीलाई आकर्षक बनाउन वाटर फोउन्टेन पनि राखिएको छ भने पोखरी वरिपरि स–साना पोखरी बनाएर त्यहाँ कमल फुलाउने प्यालन पनि गरिएको रहेछ । पोखरीको चारै कुनामा संस्कृति झल्किने कलाकृर्ति राखिएको छ भने पोखरीको मूल ढोकामा मण्डप राखिएको कमलपोखरी यति बेला ज्याकाराण्डा फूल फूलेर झन आकर्षक बनेको रहेछ ।
कमल पोखरीको इतिहास खोतल्दा त्यति धेरै जानकारी भने भेटिएन । यद्यपि कमल पोखरी काठमाडौंको केन्द्रमा रहेको एक प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पोखरी भने पक्कै हो । यसको निर्माण लिच्छिविकालीन समयमा भएको भन्ने विश्वास पनि गरिनेरहेछ ।
पोखरी वरिपरी बनाइएका नौ ओटा चैतेहरूले पनि पोखरीमा अझ सुन्दरता थपेको छ । साथै पोखरी परिसरमा पाँच ओटा कलात्मक शैलीमा बनाइएको ढुंगे धारोले पनि हाम्रो संस्कृतिलाई झल्काएको छ ।
तर, पोखरी राम्रो बन्दै जाँदा पोखरीमा पानी भने सुक्न थालेको छ । अहिले म पोखरीमा पुग्दा आधा भाग जस्तो सुकेको रहेछ । छठ पूजामा व्रतालुहरुको लागि समेत सहज हुने गरी निर्माण गरिएको यस पोखरीमा यतिबेला पानी आधा नै घटेको रहेछ । ज्याकाराण्डा फूल फुलेर मनमोहक बनेको पोखरी भरी पानी पनि भएको भए झन आकर्षक हुने देखिन्थ्यो ।
जे होस पोखरीमा पानी सुकेपनि ज्याकाराण्डा फूल फुलेर पोखरी आकर्षक देखिएको छ । काठमाडौंको सडक र बगैँचा चैतको उग्र घाम र वैशाखको खडेरीले तात्दा ज्याकाराण्डा ढकमक्क फुलिदिन्छ । यसरी फूल फुल्दा रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै बनाएको छ । जस्ले गर्दा काठमाडौंका धेरै स्थानमा शोभा बढाएको छ । निलाम्मे फुलेका फूलमा स–साना बाल बच्चादेखि बूढाबूढी युवा जस्तै रमाएका छन् ।
झन युवा युवतीको त कुरै नगरम, ढकमक्क फुलेका फूलहरूमा भिडियो तथा फोटो खिच्न कमल पोखरी आउनेको लर्को नै छ । यहाँ बिहाादेखि बेलुकासम्म नै मानिसहरू रमाइरहेका हुन्छ ।
कमल पोखरीमा मात्रै होइन यतिबेला काठमाडौंको दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकाराण्डा फूल ढकमक्क फूलेका छन् । यसले राजधानीमा थप सुन्दर थपेको छ । साथै धरोहरा छेउछाउका भित्ताहरू पनि संस्कृतिक झल्कने चित्र तथा कलाकृर्तिहरूले चिटिक्क सजिएको छ ।