नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ हो चाँगुनारायण मन्दिर

काठमाडौं । चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । चाँगुनारायण नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको छ । चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ। चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ ।  मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो । यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन्। प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् । माथिल्लो तहमा रुख–लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् । तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ–बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस यस क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

चाँगुनारायणजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स