आज घोडेजात्रा, काठमाडौं उपत्यका विदा

काठमाडौं । आज घोडेजात्रा । काठमाडौं उपत्यकामा भव्यताका साथ यो पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज(चैत २६ गते काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । घोडेजात्राको अवसरमा आज सरकारले काठमाडौँ उपत्यकामा बिदा दिएको छ ।

किम्बदन्तीअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर, पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन।

साथै सहरका कुनै पनि बालबालिकामाथि राम्रो होस् भन्नका लागि आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ । आजको दिन जंगबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ ।

शाही नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स