मिति सकिएका खाद्य वस्तु बिक्री गर्दे हुनुहुन्छ ? सावधान ! बजार अनुगमन टोलीको कारबाहीमा परिएला

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन सुरु गरेको छ ।

चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

उनका अनुसार चाडपर्व सुरु भएसँगै दैनिक छ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौं । चाडपर्व सुरु हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक छ समूहलाई बजारमा पठाउने गरेका छौं’, उनले भने, ‘अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौं ।’

उनले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । ‘उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौं । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ’, उनले भने ।

मूल्य वृद्धि

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो ।

पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाएको हो ।

उनले सरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्यांक अनुसार पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताएको थियो ।

चाडपर्व सुरु भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधबार सरकारले पौडेलको सरुवा गरेपनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । बुधबार सरुवाको निर्णय भएपनि आइतबारसम्म पौडेल विभागमा नै रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स