काठमाडौं । आज आश्विन सक्राान्ति अर्थात विश्वकर्मा पूजा । कालिगडहरूले विश्वकर्माको पूजा तथा आरधना गरेर मनाउँदैछन् । असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्यता विश्वकर्मा पूजाको गरी मनाउने गरिन्छ । वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने प्रचलन छ ।
विश्वकर्मालाई देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता मानिन्छ । विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रूपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । यतिखेरको आधुनिक युगमा पनि उनले वैदिककालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालमा पनि यो पर्व मनाउने गरिन्न्छ ।
नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरू मनाउने परम्परा छ ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरूको विशेष पूजा गरिन्छ । तसर्थ, आजको दिन सार्वजनिक यातायातका साधनहरू सहज उपलब्ध नहुन सक्छन् ।
विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ ।
पछिल्लो समय यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमाहरूमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय हुन् । यिनी वास्तुविधाका पनि जानकार थिए । यसै कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।
दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तु सीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भने सिंगापुर रहेको बताइन्छ । प्राचीनतम् वास्तुशास्त्रको आधुनिक अवलम्बन अनुरूप सिंगापुरको वास्तु आत्मसात् आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् । यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ ।