विद्युत लाइन भूमिगत गर्दा खुशिबु नयाँ बजार क्षेत्रका खानेपानी पाइपलाइनमा क्षति

काठमाडौं । काठमाडौंको खुशिबु नयाँ बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट विद्युतलाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको मर्मत एवम् पुनस्र्थापनाका लागि प्राधिकरणबाट क्षतिपूर्ति रकम प्राप्त नहुँदा त्यस क्षेत्रका सडकको पुनस्र्थापनामा समेत ढिलाई भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता संघका अध्यक्ष लगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनस्र्थापना गर्न माग गरेकोमा उनले प्राधिकरणबाट विद्युतलाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको क्षतिपूर्ति रकम प्राप्त नभएका कारण क्षति भएको खानेपानीको काम सम्पन्न गर्न नसकेको र त्यसले गर्दा सडकको समेत पुनस्र्थापनामा ढिलाई भइरहेको स्पष्ट गरे ।

आयोजना निर्देशकले खुुशिबु क्षेत्रमा करिव २८ किलोमिटर खानेपानी पाइपलाइन विच्छ्याइएको मध्ये विभिन्न स्थानमा गरेर करिव १४ किलोमिटर खानेपानी पाइपलाइन विद्युतलाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको र त्यसको मर्मत सम्भारका लागि करिव ६ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

प्राधिकरणसँग भएको सहमति अनुरुप विद्युत लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको खुशिवु क्षेत्रको रोपवे सडकको पहिलो चरणको मर्मत सम्भारको कार्य सम्पन्न गरी खर्चको सोधभर्नाका लागि प्राधिकरणलाई पत्राचार गरे पनि भुक्तानी नभएका कारण अर्को चरणको मर्मतसम्भारको काम अगाडि बढ्न नसकेको, उनले बताए ।

भेटकै अवसरमा आयोजना निर्देशकले वर्षायामलाई ध्यानमा राखी विद्युतलाइन भूमिगत गर्दा क्षतिग्रस्त भएकामध्ये मुख्य सडकलाई पहिलो प्राथमिकतामा राखी चरणवद्धरुपमा यथाशीघ्र सडक मर्मतसम्भार गर्न र प्राधिरणबाट सहमति बमोजिम क्षतिपूर्ति रकम प्राप्त गर्नका लागि ताकेता गर्न मातहतका पदाधिकारीहरुलाई निर्देशन दिए ।

विद्युतलाइन भूमिगत गर्दा क्षति पुगेका पाइपलाइनको मर्मतसम्भार एवम् पुनस्र्थापनाका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले आयोजना कार्यान्वयन निर्देशनालयलाई भुक्तानी दिने सम्बन्धमा निर्देशनालय र नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाबीच यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स