काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।
प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी पाँच दिने औपचारिक भ्रमण सम्पन्नस्वदेश फिर्ता भएका हुन् ।
उनलार्ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीे बिदाई गरेका हुन् ।
भ्रमणको दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतनाको भ्रमण गर्नुका साथै मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत गरेका थिए ।
यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।