सामुहिक लगानी कोष एउटा फरक प्रकृतिको उपकरण हो । एउटा लगानी गर्ने विकल्प जस्तो हो । नियमनकारी निकायबाट स्वीकृति लिएर संचालन गरिएको हुन्छ । यसमा धेरै जना युनिट होल्डर (एकाईधनी) हरू हुन्छन् ।
यसमा धेरै व्यक्ति र संस्थागत लगानीकर्ताहरू बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य कोषहरू रहन्छन् । यसरी धेरै युनिट होल्डर संलग्न भएर रकम जम्मा गर्दा ठूलो कोष बन्दछ । सो रकमलाई सही तरिकाले व्यवस्थापन गरी लगानी गर्ने भएकाले सामुहिक लगानी कोष (म्यूच्यूअल फण्ड) भनिएको हो । यो खुल्लामुखी (ओपन ईन्डेड) र बन्दमुखी (कोल्ज्ड ईन्डेड) गरी दुई प्रकारको हुन्छ ।
बन्दमुखीः कुनै निश्चित रकम र अवधि तोकी लगानीकर्ताहरूलाई इकाईहरू बिक्री गरिने सामुहिक लगानीलाई बन्दमुखी योजना भनिन्छ । यस प्रकारको सामूहिक लगानीकोषमा एक पटक युनिट (एकाई) जारी गरिसकेपछि पुन थप युनिट जरी गरिदैन ।
यसमा विशेष गरी यसको आकार र अवधि दुबै निश्चित गरिएको हुन्छ । यस्तो किसिमको लगानी कोषमा कति रकम राख्ने र कहिलेसम्म राख्ने भन्ने हुन्छ । यो नेप्सेमा सूचिकृत भएको हुन्छ र सेयर बजारको दोस्रो बजारमा कारोबार हुन्छ । स्टक मार्केटमा ब्रोकरहरू मार्फत खरिदबिक्री गर्न सकिन्छ । यसलाई बजारले नै नियन्त्रण गरेको हुन्छ ।
खुल्लामुखीः यो योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समय सीमा नतोकि कुनै पनि समयमा लगानीकर्ताह ज्ञलाई इकाइहरू बिक्री गर्न सकिने गरी जारी गरिने सामुहिक लगानी योजनालाई खुल्लामुखी योजना भनिन्छ ।
यसमा इकाईहरूको आकार निश्चिन हुँदैन, घटने बढ्ने हुन्छ र अवधि पनि निश्चित हँुदैन । यो लिक्यूडेट नगरेसम्म चलिरहन्छ । कुनै पनि समयमा युनिट खरिद बिक्री गर्न सकिन्छ । खरिद बिक्री गर्न परेमा सामूहिक लगानी कोष आफैले एनएभी (नेट एसेस्ट भ्यालु) को आधारमा खरिद बिक्री गरी दिन्छ । एनएभी सामूहिक लगानी कोष व्यवस्थापकले दैनिक रुपमा निकाली रहेका हुन्छन् । एनएभी जति बढी हुन्छ, त्यतिनै बढी बजारमा यसको मूल्य बढ्छ । यो एनएभीमा पूरै निर्भर रहन्छ ।
कस्ता लगानीकर्ताहरुले सामुहिक लगानी कोषमा लगानी गर्नेः
१. जोखिम बहन गर्ने क्षमता कम हुने ।
२. कम पूँजीमा लगानी गर्न चाहने ।
३. सेयर मार्केट सम्बन्धि जानकार नहुने ।
४. व्यवसायिक तरिकाले पछि लगानी गर्ने सोच राख्ने ।
५. समय दिन नसक्नेले र
६. लगानीमा विविधिकरण ल्याउन चाहने ।
फाइदाः
सामुहिक लगानी कोषमा एक हजार रुपैयाँबाटै लगानी गर्न सकिन्छ । यसमा प्रति एकाई १० रुपैयाँको दरले न्यूनतम १०० कित्तादेखि बढीमा ८० लाख कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । सामूहिक लगानी कोषमा जोखिम कम हुन्छ ।
स्टक मार्केट सम्वन्धि ज्ञान छैन, तर लगानी गरेर नाफा आर्जन गर्न चाहनेले यसमा लगानी गरेर नाफा आर्जन गर्न सक्छन् ।
आम लगानीकर्ता तथा संस्थागत लगानीकर्ताबाट जम्मा भएको रकम सेयर बजारमै लगानी गर्ने हो । यसलेक लगातार प्रतिफल आइरहन्छ । ब्लू चिप कम्पनीमा लगानीकर्ताको पैसा लगानी भैरहेको हुन्छ । वार्षिक रुपमा लाभांश पनि पाईन्छ ।