प्रतिसेयर आम्दानी भनेको के हो ? यो कसरी निकालिन्छ ?

काठमाडौं । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो ।

प्रतिसेयर आम्दानी निकाल्ने सूत्रः
प्रतिसेयर आम्दानी.करपछिको नाफा/कुल साधारण सेयरको जम्मा संख्या

मानौ एउटा कम्पनीको चुक्तापुँजी एक अर्ब छ भने उक्त कम्पनीको सेयर संख्या एक करोड हुन आउँछ अर्थात एक सय अंकित मूल्य भएका सेयरको संख्या एक करोड हुन्छ, यसलाई सूत्रमा देखाउँदा चुक्तापुँजी÷सेयरको अंकित मूल्य ।

सेयरको अंकित मूल्य सय हुँदा एक अर्ब चुक्तापुँजी भएको कम्पनीको सेयरको संख्या एक करोड हुन आउँछ । मानौ, उक्त कम्पनीले यो वर्ष ३० करोड मुनाफा गर्न सफल भयो भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी ३० हुनु आउँछ, ३० करोड मुनाफा/१ करोड सेयर संख्या अर्थात एककित्ता सेयरले यो वर्ष ३० रुपैयाँ कमाउन सफल भएको देखियो ।

दोस्रो बजारमा सेयर कारोवार गर्ने लगानीकर्ताले कम्पनी छनोट गर्दा प्रतिसेयर आम्दानीको बारेमा जान्न धेरै जरुरी छ । कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीको आर्थिक स्वस्थता र सवलता कस्तो छ भन्ने कुराको जानकारी दिन्छ ।

कुनै पनि कम्पनीको प्रतिसेयर आम्दानी निकालेपछि मूल्य आम्दानी अनुपात पनि सजिलै पत्ता लगाउन सकिन्छ । कम्पनीको खुद मुनाफाबाट प्रत्येक सेयरमा कति आम्दानी आउँछ भन्ने कुराको जानकारी प्रतिसेयर आम्दानीले दिन्छ । दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी अधिक भएको कम्पनी छनौट गर्नुपर्दछ । प्रतिसेयर आम्दानी अधिक भएको कम्पनीले बोनस पनि अधिक दिन्छ ।

कुनै एक दुई बर्षमा प्रतिसेयर आम्दानी धेरै हुँदैमा त्यो कम्पनी राम्रो मान्न सकिन्न। कम्पनी राम्रो हुन प्रतिसेयर आम्दानीको ट्रेन्ड बढदो क्रममा हुनुपर्छ । प्रतिसेयर आम्दानी बढदो ट्रेन्डमा छ भने कम्पनीको आम्दानी पनि बढदो क्रममा छ भन्ने बुझिन्छ । आम्दानी बढ्दो अवस्थामा भएको कम्पनीको सेयरमूल्य बढछ भने बोनस पनि धेरै दिने सम्भावना हुन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ । प्रतिसेयर आम्दानी घटदै जादा कम्पनीको सेयरमूल्य पनि घट्दै जान्छ । सेयर संख्या बढ्दै जादा प्रतिसेयर आम्दानी पनि घटदै जान्छ ।

कम्पनीको नाफाको मुल्यांकन गर्दा कुल नाफा भन्दा प्रतिसेयर नाफा हेर्नुपर्दछ । कतिपय कम्पनीको कुल नाफा अधिक भएर पनि प्रतिसेयर आम्दानी कम हुनसक्छ । त्यसकारण दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रत्येक वर्ष प्रतिसेयर आम्दानी बढाउँदै लगेको कम्पनी छनोट गर्नु सेयर लगानीको दृष्टिकोणले सुरक्षित मानिन्छ । सामान्यतया प्रतिसेयर आम्दानी २० भन्दा माथि भएको कम्पनी राम्रो मानिन्छ । यसरी दोस्रो बजारमा कम्पनी छनोट गर्दा बुझ्नुपर्ने महत्त्वपूर्ण औजार हो प्रतिसेयर आम्दानी ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स