कुनै पनि कम्पनी स्थापना गर्नको लागि पुँजीको आवश्यकता पर्दछ । पुँजीलाई अधिकृत, जारी र चुक्ता गरी ३ भागमा विभाजित गरिन्छ । त्यही चुक्ता पुँजीको सबैभन्दा सानो एकाइलाई सेयर भनिन्छ । कम्पनीहरूले अधिकृत पुँजीबाट जारी पुँजी गर्दे चुक्ता पुँजी बढाउन सक्छन् ।
कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ । सेयरमा लगानी गरेवापत सेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । तसर्थ आफूले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुबैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।
नेपालमा प्रति एकाइ सेयरको मूल्य १ सय रूपैयाँ निर्धारण गरिएको छ । त्यसैले जम्मा सेयर एकाइलाई १ सयले गुण गर्दा कम्पनीको जम्मा चुक्ता पुँजी निस्किन्छ । कम्पनीमा सेयर जसले धेरै धारण गरेको हुन्छ, उसैको पुँजी धेरै हुन्छ । जसले धेरै सेयर धारण गर्छ । उसैले कम्पनीमा धेरै सञ्चालकहरू पठाउने चलन छ । त्यसैले गर्दा कम्पनी पनि सेयर धेरै हुुनेको नियन्त्रणमा रहन्छ ।
सेयरको प्रकार
१. साधारण सेयर २.अग्राधिकार सेयर
१.साधारण सेयरः सामान्यता नेपालमा सर्वसाधारणले बुझ्ने साधारण सेयर हो । साधारण सेयर धारण गर्ने व्यक्ति वा संस्था कम्पनी संचालक बन्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयर धारण गर्ने व्यक्ति वा संस्थाहरूले लाभांश पाउँछन् । कम्पनीहरूले नाफाको आधारमा सेयर धनीलाई नगद तथा सेयर लांभाश दिने गर्दछन् । यो कम्पनीको नाफा तथा घाटासँग सम्बन्धित हुन्छ । साधारण सेयर धनीले कम्पनीको साधारणसभामा भाग लिएर कम्पनीको हित र आफ्नो अधिकारको बारेमा कुरा राख्न सक्छन् ।
२.अग्रााधिकार सेयरः कम्पनीले आर्जन गरेको मुनाफाबाट पहिला नै तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । अग्राधिकार सेयरधनीले कम्पनी घाटामा गएपनि अर्थात नाफामा रहे पनि पहिला नै तोकिए बमोजिमको लाभांश पाउँछन् । पहिले नै नगद लांभाश निश्चित गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । यो सेयर धारणा गर्ने व्यक्ति वा संस्थालाई कम्पनीको नाफा नोक्सानसँग कुनै सरोकार हुँदैन ।
संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार राख्ने सेयर नै अग्राधिकार सेयर हो । अग्राधिकार सेयरमा सेयर पुँजी तथा ऋण दुबैको मिश्रित विशेषता हुने गर्दछ । अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ । यो समूहको सेयरधनीहरूले साधारण सेयरधनीहरु भन्दा अधिक रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।
कम्पनीले वितरण गर्ने लाभांशमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यो सेयरलाई अग्राधिकार भनिएको हो । अग्राधिकार सेयरधनीहरूले आफ्ना हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा तथा कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउंँदैनन् ।