बुक बिल्डिङबाट सेयर निष्काशन गर्ने विधि र लगानीकर्तालाई हुने फाइदा

बुक बिल्डिङ भनेको सरल भाषामा संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य निर्धारण गरिने विधि हो । संगठित संस्थाहरूले यो विधि मार्फत आईपीओ जारी गर्दा निष्काशन मूल्य बजारलेनै निर्धारण गर्ने र उक्त निर्धारण प्रक्रियामा समेत पारदर्शिता हुनुका साथै मूल्य समेत प्रतिस्पर्धी रहन्छ ।

बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्ने संगठित संस्थाले विभिन्न मापदण्ड पुरा गरेको हुनुपर्छ जस्तै निष्काशन गर्ने संगठित संस्था विगत ३ आर्थिक वर्ष देखि लगातार खुद मुनाफामा संचालनमा रहेको हुनुपर्छ, उक्त संगठित संस्थाको साधारण सभाले बुक विल्डिङ विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनु पर्छ, प्रति सेयर नेटवथर्, प्रति सेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको हुनुपर्छ र उक्त संगठित संस्थाले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड समेत प्राप्त गरेको हुनु पर्छ ।

बुक बिल्डिङ विधि आफैंमा सार्वजनिक निष्काशन गर्दा मूल्य निर्धारण गर्ने एक अब्बल प्रकारको वैज्ञानिक बिधि हो । यो एक मूल्य पत्ता लगाउने प्रक्रिया हो जसमा कम्पनीले निश्चित मूल्यको सट्टा, सेयर जारी गर्ने मूल्यको दायरा निर्धारण गर्दछ । विकशित मुलुकहरुमा यसै बिधि मार्फत सार्वजनिक निष्काशन गर्ने गरिन्छ ।

यो विधिबाट सावजनिक निष्काशन गर्दा तीनै पक्षहरू (निष्काशनकर्ता संगठित संस्थाहरु, प्रत्याभूतिकर्ताहरू र लगानीकर्ताहरू) लाई पर्याप्त फाइदाहरू पुग्ने देखिन्छ, किनकि यसले एक तवरले आईपीओको उचित मूल्य सुनिश्चित गर्दछ ।

दोस्रो बजारको कारोबार समेत उचित मुल्यमा सहज रूपमा हुने देखिन्छ । यो विधि बाट सार्वजनीक निष्काशन गर्दा विभिन्न कार्यहरु जस्तै योग्य संस्थागत लगानीकर्ता मार्फत मात्र गर्नु पर्न , अटोमेटेड बिडिङ सिस्टम संचालन गर्नु पर्ने, सर्वसाधारण लगानकर्ताहरूलाई निष्काशन गरिने धितोपत्रको अण्डरराईटिङ गरिनु पर्ने, कुनै एक योग्य संस्थागत लगानीकर्ताले २० प्रतिशत भन्दा बढी धितोपत्रको बोलकबोल प्रस्ताव पेश गर्न नपाउने आदी रहेका छन् ।

त्यस्तै योग्य संस्थागत लगानीकर्ताहरूको बीच छलफल कार्यक्रम संचालन गरी कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मुल्य प्राप्त गर्नु पर्ने, निष्काशन हुने धितोपत्रको मुल्य सिमा निर्धारण गर्नु पर्ने र बिक्री मूल्य उक्त मूल्यको २० प्रतिशत तल वा माथिको दायरा भित्र रहनु पर्ने, योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नुपर्ने र योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र, धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महिनासम्म कारोवार गर्न नमिल्ने प्रावधानले सूचीकरण पश्चात उक्त धितोपत्रको माग र आपूर्तीमा समेत सन्तुलन कायम रहने अवस्था समेत रहने देखिन्छ ।

सर्वसाधारणमा धितोपत्र जारी गर्दा निर्धारण भएको कट अफ मुल्यमा १० प्रतिशत छुटमा निष्काशन गर्नु पर्ने र यसका अलावा आवेदन दिन मिल्ने र बाँडफाँट हने न्यूनतम इकाइ ५० कित्ता हुनु पनि आम सर्वसाधारण लगानीकर्ताको लागि फाइदाजनक विषय नै हो ।

यो विधिबाट सार्वजनिक निष्काशन गर्दा प्रायजसो कम्पनीहरुले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न सक्ने अवस्था रहन्छ र अहिले जस्तो पार मूल्यमा निष्काशित गरिएको आईपीओ दोस्रो बजारमा सूचीकृत भएको छोटो समयमै कयौं गुणा बढी म्ूल्यमा बिक्री गरी बाँडफाँटमा परेका लगानकिर्ताहरूले मात्र लाभ पाउँदै आएकोमा अब उक्त प्रिमियम बापतको रकम कम्पनीको जगेडा कोषमा रहने र पुँजीकोष समेत थप मजबुत हुने अवस्था रहन्छ ।

यसरी यो बिधिले संस्थागत लगानीकर्ताहरूको कार्यक्षेत्रलाई समेत बृहत बनाउँछ र वैज्ञानिक विधिबाट मूल्य निर्धारण गरिने हुँदा अन्य वास्तविक क्षेत्रका संस्थाहरू तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरूलाई समेत आईपीओ जारी गर्न प्रोत्साहित गरी पुँजी बजारको मूल प्रवाहमा समाहित गराउँछ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स