सालिकको बयान

हिजो जस्तै लाग्छ

तिमीले आव्हान गरेको

मैले सुनेको।

भन्थ्यौ- परिवर्तनका लागि वलिदान!

माग्थ्यौ- जोस, जाँगर, समय र तातो रगत।

 

केही गर्ने, केही बन्ने मेरो अदम्य आँट

कहीँ पुग्ने अविरल यात्रा,

अगेनोमा दन्दनी आगो बालेर

ताउलोमा भकभकी उम्लेको पानी झै

उम्लेको मेरो रगत,

वेगले बगेको वायु/तुफानको गति झै

अघि बढेको मेरो आँट अनि जोस,

ठिङ्ग उभिएको बडेमानको अग्लो पहाड झै,

दृढ मेरो लक्ष्य,

बारीमा फुलेको मखमली फूल झै

फुलेका मेरा रहर लाग्दा भीमकाय सपना,

देशका लागि सबै माग्यौ- मैले दिएँ।

 

त्यतिले पुगेन तिमीलाई,

तिमीले मेरो मन-मुटु माग्यौ

र, भन्यौ- त्यो नभई देश बाँच्दैन

मेरो सुन्दर परिवार र मेरो मायालाई साँचेको

मेरो सम्पत्ति मन-मुटु,

तिमीले माग्यौ

मैले खुरूक्क दिएँ

तिमीले लियौ।

 

फेरि भन्यौ-

यो प्रिय माटोको लागि ज्यानै वलिदान दे

युद्धको अग्र भागबाट कुनै प्रश्न नगरी

मैले ज्यान देशको माटोका लागि दिएँ- अघि बढें।

 

मेरा सपना थिए-

देश सुन्दर, शान्त र समृद्ध बनाउने,

सबैको अनुहारमा खुशीयालीको हाँसो सजाउने,

देश सुखसयल, न्याय, शान्ति र सुरक्षित स्थल बनाउने,

 

जहाँ-

कोही भोकै नमरोस्,

कसैलाई घामले नपोलोस्

कोही चिसोमा ठिहिरन नपरोस्,

कसैले खुल्ला आकाशलाई छानो मान्न नपरोस्,

सबैको मुखमा सुखले कमाएको जाउलो परोस्,

सबैको शरीर एकसरो कपडाले छोपियोस्

गोधुली साँझमा आनन्दले वास गरोस्

विहानको उषा-किरणसँगै

नयाँ जोस-जाँगर, उमङ्ग

अनि उत्साहले ढोका ढकढक्याओस्,

र, सबैको मनभित्र देशप्रतिको-

माया, विश्वास एवं आस्था बाँकी रहोस् ,

अनि देशले सबैलाई न्यानोपनले ढाकिरहोस्,

देशको माया सबैको अनुहारभरि पोखियोस्।

समानता, समता, सामाजिक न्याय, सद्‍भाव,

नैतिकता, सदाचरिता, भातृत्व-वन्धुत्व

र, सहिष्णुताले भरिभराउ होस् समाज।

 

के देशमा त्यस्तो भयो र?

मनहरू किन फाटे?

विश्वास गरेकाले किन ढाँटे?

अझै, धनी-गरीब,

उच्च-नीच, बलियो-कमजोर, सानो-ठूलो

वर्ग- समूह, आफ्नो-पराइ भनी किन बाँडे?

 

प्रत्यक्ष म बोल्दिन, म सुन्दिन

सादृष्य भई म देख्दिन

तर आज मलाई लाग्दैछ-

देश सोचेजस्तो छैन,

मैले खोजेजस्तो छैन,

संस्कार-व्यवहार रोजेजस्तो छैन।

 

यस्तो किन भयो हँ?

तिमी अर्कै मन-मुटुसँग छौ,

व्यक्तिगत सुखसयल, मोजमज्जा र अमनचयन।

तिमी ओतप्रोत छौ ऐश आराममय तनमा

र, बसेका छौ- मेरा सपना बेचेको धनमा।

खै! कहाँ फाल्यौ- मेरो मन-मुटु

मैले दिएको तिमीले लिएको- मेरो ज्यान।

राम-राज्य बनाउने अन्तिम इच्छा बोकेको

मेरो ढुकढुकी खोई?

खै केका लागि हो- म रित्तो भएको, म  रित्तिएको?

साच्चिकै भनौं- केका लागि म सिद्धिएको?

 

बटुवाले यात्रामा पानी पिएर बोतल फ्याके झै,

तिमीलाई अरूको मन-मुटु, र रगत फ्याक्ने,

जोस, जाँगर, आँट र आशा कुल्चने

अरूको काँध चढेर स्वार्थ पूरा गर्ने

लत नै रहेछ- एक किसिमको अम्मल।

 

अब अझै अरू कैयौंको पालो आउँछ-

म जस्तै रित्तिने र सिद्धिने,

सपना सिद्ध्याएर सडकको चोकमा

कङ्क्रिटको आकार भई ठिङ्ग्रिने,

र बन्ने,

म जस्तै सपना हराएको शहीदको सालिक।।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स