सगरमाथा आरोहण उत्साहजनकः आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौं ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३९९ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धकरुपमा आरोही आइरहेको बताउनुभयो ।
उनका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व संकलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उनले बताए ।
विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् ।
 निर्देशक गुरुङले आरोहीको संख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । उनीहरुबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष ५६ करोड रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताए ।
विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ ।
यसमध्ये सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो । ‘यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ’, निर्देशक गुरुङले भने ‘सगरमाथा आरोहीको संख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ । अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा चार सयभन्दा बढी आरोही पुग्ने देखिन्छ ।’
 विभागको विवरणमा सगरमाथापट्टी ल्होत्से हिमालबाट एक करोड ७२ लाख ५८ हजार नौ सय २२ र मकालु हिमालबाट एक करोड ७७ लाख ४८ हजार रोयल्टी प्राप्त भएको छ ।
पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख दस्तुर लाग्छ ।
नेपालीले ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ ।
बसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक सङ्ख्यामा आरोही आउछन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै सङ्ख्यामा आरोही आएको बताए ।
वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो संख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताए ।
सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् ।
यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ । सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन् ।
सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ । यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स