असोजमा लक्ष्यभन्दा ५ अर्ब १३ करोड बढीले भन्सार राजस्व संकलन

काठमाडौं । असोज महिनामा भन्सारबाट ४९ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । असोजमा भन्सार राजस्व संकलनमा लक्ष्य नाघेको हो ।

असोज महिनामा भन्सार विभागले ४४ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । विभागले लक्ष्यभन्दा ५ अर्ब १३ करोड रुपैयाँ बढीले भन्सार राजस्व संकलन गरेको छ ।

विभागले अन्तःशुल्कबाट ७ अर्ब ५९ करोड रुपैयाँ, भ्याटबाट १८ अर्ब ३८ करोड रुपैयाँ र अन्य शीर्षकमा २३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

पहिलो तीन महिनामा विभागले १ खर्ब २६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । असोजमसान्तसम्म १ खर्ब ३६ अर्ब राजस्व संकलन भइसकेको छ ।

दशैंअघि सरकारले भन्सार महसुल संकलन गर्ने सन्दर्भ सूची परिमार्जन गरेको थियो । दसैंमा अधिक मात्रामा वस्तु तथा सामग्री आयात हुने भएकाले पनि त्यसैलाई केन्द्रमा राखेर अर्थमन्त्री जनार्दन शर्माले सन्दर्भ सूची परिमार्जनमा सहमति जनाएका थिए ।

दशैंको समयमा अन्य महिनाको तुलनामा आयात धेरै हुने भएकाले राजस्व संकलन बढेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् ।

‘निषेधाज्ञा खुकुलो भएसँग आर्थिक गतिविधि चलायमान भएका छन् । चाडपर्वमा खपत धेरै हुनाले आयत बढेको छ,’ खड्काले भने, ‘सवारीसाधन र पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ ।’

भन्सारको प्रमुख स्रोतको रुपमा डिजल तथा पेट्रोल रहेको छ । डिजल तथा पेट्रोलको मूल्यसँगै खपत बढेको छ । भारतले पाम तेल माथिको प्रतिबन्ध फुकुवा गरेको छ । पाम तेल निर्यात र कच्चा पदार्थको आयात बढेको छ । यस्तै, सुन तथा चाँदी १० किलोको ठाउँमा २० किलो निकासी गर्न दिँदा पनि भन्सार राजस्व संकलन बढेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स