अत्यधिक आयात बढेपछि सरकारले चाँदीको भन्सार दर २० रुपैयाँले बढायो, यस विषयमा के भन्छन् व्यापारी ?

काठमाडौं । सरकारले चाँदीमा लाग्ने भन्सार बढाएको छ । यस वर्ष चाँदीको अत्यधिक आयात भएपछि सरकारले विदेशी मुद्रा सञ्चिती कम हुन नदिन चाँदीको भन्सारदर बढाएको हो । सरकारले सोमबार चाँदीको भन्सार बढाउने निर्णय गरेको हो ।
बढ्दो आयात र शोधनान्तर घाटा अनि घट्दो विदेशी सञ्चितिका कारण सरकारले प्रति १० ग्राम चाँदीमा २० रुपैयाँले बढाएरको हो । यसअघि सो परिमाणमा ८७ रुपैयाँ भन्सार महसुल लाग्दै आएको थियो । अब प्रति १० ग्राम चाँदी खरिद गर्नका लागि १०७ रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने भएको छ ।

सरकारले बढाएको भन्सार दर राजपत्रमा भने प्रकाशित हुन पाएको छैन । बढेको दर दशैं विदापछि राजपत्रमा प्रकाशित गर्ने सरकारका एक मन्त्रीले बताए । विदेशबाट आयात हुने वस्तुको भन्सार महसुल तथा अन्तःशुल्क बढाउने अधिकार मन्त्रीपरिषद्लाई छ । २ महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको भने ४४ अर्बको निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात केही बढेपनि विदेशी सञ्चिती घट्दा सरकारले सन्तुलन कायम राख्न चाँदीको भन्सार दर बढाएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको दुई महिनाको अवधिमा ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको ६९ हजार १ सय ५२ केजी चाँदी आयात भएको छ । जुन हालसम्मकै उच्च हो । गत वर्ष सोही अवधिमा नेपालले ७ करोड ६१ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार केजी मात्रै चाँदी आयात गरेको थियो ।

पछिल्लो समय नेपाली बजारमा पनि चाँदीका भाडावर्तनको व्यापार बढ्दै जानु, हस्तकलाका सामानमा चाँदीको प्रयोग बढ्नु तथा चाँदीका गरगहनाको माग बढ्न थालेकाले चाँदीको आयात बढी भएको हो ।

यद्यपि अहिले जति परिमाणमा चाँदीको आयात भयो सो परिमाण वा मूल्यको चाँदी भने नेपाली बजारको मात्रै डिमाण्ड नभएको हुन सक्ने अनुमान सुनचाँदी व्यवसायीहरूले लगाए । २ महिनामा वर्षभरि नै आयात हुने जति अत्यधिक चाँदी आयो, त्यसैले वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई चाँदीको आयातमा निगरानी राख्न हामीले नै सुझाव दिएका थियौं,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले हाम्रोअर्थसँग भने ।

‘अहिले २ महिनामा आयात भएको चाँदी नेपाली बजारको मागभन्दा बढी हो,’ उनले भने ‘नेपाली बजारको माग भने दैनिक प्रतिदिन ३ सय किलो हो । सिजनको ४ सय किलो जाने हो । तिहारको ३ दिन काज तिहार, कुकुर तिहार तथा लक्ष्मी पूजाको दिन भने दैनिक उक हजार किलोसम्म चाँदी बिक्री हुने गरेको छ । अहिले आयात भएको चाँदी नेपाली बजारको मात्रै हुने नसक्ने देखियो । यसले सुनको आयातमा समेत असर पर्ने देखेर भन्सार महसुल बढाउन महासंघले सुझाएको हो ।

‘साउन र भदौ महिनामा आएको चाँदीको परिमाण हेर्दा रेलले लिक छोडेको आभास भयो । लिकमा गुड्नुपर्ने रेल अन्य बाटोमा लएपछि ‘एक्सिडेन्ट’ पर्छ कि भन्ने डर हामीमा छ ।’ यसलाई रोक्न यो भन्सार महसुल बढाउन आवश्यक थियो,’ उनले थपे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स