मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व संकलन

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जंगली जडीबुटी बिक्रीबाट २६ लाख ४४ हजार दुई सय २९ राजस्व संकलन भएको छ ।

जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जंगली जडीबुटी बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।

यस आवमा यार्सागुम्बा बिक्रीबाट २५ लाख ४८ हजार दुई सय, वन लसुनबाट ४६ हजार नौ सय ९६, जिम्मु बिक्रीबाट ११ हजार ९१, निगालोबाट तीन हजार तीन सय ५० र टिम्बर काठबाट ३४ हजार पाँच सय ९२ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘औषधीय जडीबुटी बिक्री मनाङको मुख्य आयस्रोत मानिन्छ, यसबाट यहाँको आयस्रोत वृद्धि गरेको छ’, उनले भने ।

उनका अनुसार यस आवमा यार्सागुम्बा ८२ दशमलव दुई किलोग्राम, वन लसुन एक हजार पाँच सय ६१ दशमलव दुई किलोग्राम, जिम्मु एक हजार एक सय नौ दशमलव एक किलोग्राम, निगालो तीन हजार तीन सय ५० पिस र टिम्बर काठ चार सय ५८ दशमलव ५९ क्युफिट बिक्री गरिएको छ ।

अघिल्लो आव २०७८र७९ मा जंगली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ राजस्व संकलन भएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बाजस्ता जंगली जडीबुटी संकलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजस्व संकलन भएको थियो ।

उनका अनुसार गत आवमा जिम्बु दुई हजार तीन सय छ दशमलव पाँच किलोग्राम, वन लसुन एक हजार १७ दशमलव ६५ किलोग्राम, गुची च्याउ ३० दशमलव पाँच किलोग्राम, निगालो एक हजार तीन सय पिस, यार्सागुम्बा एक सय सात दशमलव ०५२ किलोग्राम, टिम्बर एक हजार आठ सय ६७ दशमलव ५८ क्युफिट बिक्री भएको थियो । आव २०७९÷८० मा जडीबुटीको तौल कम भए पनि राजस्व भने वृद्धि भएको गौतमले बताए ।

गत वर्ष कोभिड–१९ का कारण जंगली जडीबुटी तथा काठ बिक्री गर्न समस्या हुँदा राजस्वमा कमी आएको थियो । गत वर्षको तुलनामा यस वर्ष समस्या समाधान हुँदै जानुले जडीबुटी संकलनमा सहज हुँदा राजस्वमा वृद्धि भएको गौतमले बताए । उनका अनुसार संकलित राजस्व संघीय सरकारअन्तर्गत वितीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५र२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको छ ।

मनाङमा जडीबुटी संकलनबाट हुने आम्दानी स्थानीय तह मातहत राख्न सकिएमा आन्तरिक आय वृद्धि हुने स्थानीय तहको अनुमान छ । स्थानीय तहलाई आन्तरिकरूपमै सवल बनाउने उद्देश्यअनुरूप अगाडि बढ्ने लक्ष्य पूर्ति गर्न सहयोग पुग्ने स्थानीय तहको बुझाइ छ । धेरै आय स्रोत स्थानीय सरकारमा भएको अवस्थामा पनि संघ सरकारलाई पठाउनुपर्ने प्रावधानले आय कम भएको स्थानीय तहको गुनासो छ ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले बताए। सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले जानकारी दिए ।

मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोंकर, पोंकरलगायतका स्थानबाट जंगली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । नासोँ गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भिमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जंगली जडीबुटी संकलन गरिन्छन् ।

ठेकेदारले जंगली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा ३० हजारदेखि ४० हजारसम्म पुर्जी काटेर ठेक्कामा जंगली जडीबुटी संकलन गर्दछन् । करिब दुई महिना खर्कमा बसेर ज्यालादार मजुदरले जंगली जडीबुटी संकलन गर्ने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स