मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६९.४१ प्रतिशतमात्रै राजस्व असुली गरेको जनाएको छ ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ । भन्सारले गत आवमा २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व संकलन गर्ने  लक्ष्य लिइएको थियो ।
पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व संकलनमा असर परेको रेग्मीको भनाइ थियो । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको उहाँले बताए ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।
आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम संकलन भएको छ । पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बंगलादेशसहित उत्तरी भारतको पश्चिम बंगाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व संकलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स