आजदेखि हवाई टिकटमा लाग्ने भयो मूल्य अभिवृद्धि कर, वैदेशिक भ्रमणमा पनि ५ प्रतिशत कर लाग्ने (सूचनासहित)

काठमाडौं । आन्तरिक राजस्व विभागले हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) आज साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागू हुन विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

‘करदातालाई अन्योलता नहोस् भनेर हामीले डिटेलमा ११ बुँदे सूचना जारी गरेका छौं,’ उनले भने ‘मूल्य अभिवृद्ध करमा दिएको समय सीमाभित्र दर्ता नहुने सेवा प्रदायकले कानुन बमोजिममो शुल्क तथा जरिवाना तिर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लाग्नेछ । अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जुनसुकै माध्यमबाट जारी वा खरिद गरे पनि एयरलाइन्स कम्पनीले सो हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लगाउन विभागले भनेको छ ।

विभागले हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले २० लाखभन्दा माथिको कारोबार नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख गरेको छ । हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी)ले पनि ऐन बमोजिम मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमवारदेखि ट्राभल एजेन्सीहरूको वैदेशिक भ्रमण प्याकेजमा पनि ५ प्रतिशत कर लाग्ने नियम कार्यान्वयनमा आएको हो । दुबै तर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा पनि मूल्य अभिवृद्धि कर असुल हुने छैन ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बीजक जारी गर्न स्वीकृति लिनु नपर्ने विभागले बताएको छ । तर विद्युतीय बिजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिन विभागले निर्देशन दिएको छ ।

विभागका अनुसार ट्राभल एजेन्सी व्यवसाय सञ्चालन गर्ने व्यक्तिले हवाई सेवा प्रदायकबाट टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूल्य अभिवृद्धि करको लागि बिजक जारी गर्नु पर्नेछ । हवाई सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिसन रकममा हवाई सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बिजक जारी गर्नुपर्ने पनि विभागको सूचनामा उल्लेख छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/07/ird-vat.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स