सरकारले थप्यो ‘विलासिता कर’ सम्बन्धी नयाँ क्षेत्र, के के मा कति लाग्छ कर, कस्तो छ दण्ड सजायको व्यवस्था ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि पाँच तारे र सोभन्दा माथिका तारे होटल वा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा खरिद रकममा दुई प्रतिशतका दरले ‘विलासिता कर’ तिर्नु पर्ने भएको हो । आगामी वर्षदेखि सरकारले विलाशी वस्तुमा कर लिने भएको हो ।

आर्थिक ऐनको दफा २१ मा ‘विलासिता कर’ सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा पाँच तारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत, आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रेताले बिक्रीका बखत विलासिता शुल्क लगाई असुल गर्नु पर्ने आर्थिक ऐनमा उल्लेख छ ।

विलासिता शुल्क बापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी आन्तरिक राजस्व कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ । कुनै व्यक्तिले समयमै विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाइ असुल गरिने ऐनमा उल्लेख छ ।

विलाशी कर सम्बन्धी विवरण पेस नगरेमा विवरण दाखिला नभएको मितिसम्मको वार्षिक २.५ प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने कानूनी व्यवस्था गरिएको छ । सेवा प्रदायक संस्थाले विलाशी कर असुल नगरेमा सो रकमको पच्चिस प्रतिशत शुल्क लाग्ने कानूनी व्यवस्था गरिएको छ । आन्तरिक राजस्व विभागलाई विलाशी कर सम्बन्धी प्रशासन गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स