भन्सार महसुल र अन्तःशुल्कमा व्यापक हेरफेर, अन्य राजस्व नीतिमा के के गरे अर्थमन्त्री डा. महतले ?

काठमाडौं । भोलि अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आय व्ययको विवरण बजेट सार्वजनिक गर्दैछन् । बजेटमा सबैभन्दा बढी चासोको विषय भनेको राजस्व दर र दायरा हो । विशेष गरेर नेपालमा मूल्य अभिवृद्धि कर(भ्याट), अन्तःशुल्क, भन्सार महसुल तथा आयकर लाग्दै आएको छ ।

यस बाहेक अन्य कर पनि छन् । तर, अन्य करमा भने त्यति चासो दिइदैन, माथि उल्लेखित करका विषयमा भने उद्यमी व्यवसायी, पेशागत संघ संस्थादेखि आम नागरिकसम्मलाई ठूलो चासोको विषय बन्छ । सरकार चालु आर्थिक वर्षमा नै लक्षित राजस्व नउठेर हैरान भएको छ ।

अर्थमन्त्री महतले मूल्य अभिवृद्धि कर र आयकर दर आर्थिक ऐन २०८० मा यथावत राख्ने भएका छन् । नेपालमा दुर्य किसिमको भ्याटदर प्रचलनमा छ । एउटा शून्य र अर्को भनेको १३ प्रतिशत । यसको अर्थ सरकारले कतिपय वस्तुमा भ्याट नै लगाएको छैन र यसलाई हामी शून्य भ्याट भन्छौं भने अन्य भ्याट लाग्ने वस्तुमा १३ प्रतिशत लगाएको छ । सरकारले आगामी आर्थिक वर्षमा भ्याट छुटको सूची पनि घटाउने भएको छ । उद्यमी व्यवसायीले वस्तु तथा सेवा अनुसार बहुभ्याट दरको विषय उठाउँदै आएपनि सरकारले त्यसलाई अहिलेसम्म आत्मसाथ गर्न सकेको छैन ।

प्रत्यक्ष कर (आयकर) का सम्बन्धमा भने व्यक्तिको आय, संस्थाको कमाइ अनुसार सरकारले कर निर्धारण गरेको छ । सोही अनुसार व्यक्ति वा संस्थाले आफ्नो आयअनुसार कर तिर्दै आएका छन् ।

अर्थ मन्त्रालयले यी दुई कर शीर्षकमा कुनै हेरफेर नगरेपनि भन्सार महसुल र अन्तशुल्कमा भने व्यापक हेरफेर गर्ने भएको छ । नेपालमै उत्पादन हुने विविध सामग्रीहरु जुन विदेशबाट आयात हुँदै आएका छन्। यस्ता वस्तुहरुमा उच्च भन्सार महसुल लगाउने तयारी मन्त्रालयले गरेकोे छ । धेरै आयात हुने मध्येमा पर्ने मोटरसाइकलमा पनि कर दर हेरफेरको तयारी मन्त्रालयले गरेको छ ।

आर्थिक विधेयकका नीतिगत विषय टुंगिए पनि अनुसूचीमा रहेको भ्याट छुट सम्बन्धी सूचीमा कसरी संशोधन गर्ने, अन्तःशुल्कको दर कसरी हेरफेर गर्ने र भन्सार दर कुन कुन वस्तुमा परिवर्तन गर्ने अझै टुंगो लागेको छैन । आज राति मन्त्रीसहितको टिमले करका दरहरुलाई टुंग्याएपछि प्रेसमा बजेट बुक छाप्न पठाउने तयारी मन्त्रालयले गरेको छ ।

मन्त्रालयले धेरै आयात हुने जसले व्यापार घाटालाई उच्च बनाउन सहयोग गरिरहेको छ र जुन वस्तु नेपालमा पनि उत्पादन गर्न सकिन्छ त्यस्ता वस्तुमा सरकार यो वर्ष कडा रुपमा प्रस्तुत हुने बुझिएको छ ।

कृषि जन्य उत्पादन, सवारी साधन, सुनचाँदी, कष्मेटिक, मदिर, सवारी साधानलगायतका वस्तुहरूमा सरकारले भन्सार महसुल र अन्तशुल्क बढाउने तयारी गरेको हो । नेपालमै सवारी साधान उत्पादन (एसेम्बल) गर्ने उद्योगलाई दिदैँ आएको भन्सार तथा अन्तशुल्कको छुट हटाउने, डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारी साधनको भन्सार तथा अन्तशुल्क बढाउने भएको छ ।

विवादमा तानिएको महिलाहरूले प्रयोग गर्ने प्याड, स्पञ्ज आइरनमा दिएको अन्तशुल्क तथा कर छुट हटाउने लगायतका विषय सम्बोधन हुने अर्थ मन्त्रालय स्रोतको बताएको छ ।

आगामी बजेटमा सरकारले अतिआवश्यक बाहेकका खर्च कटौती गर्ने, सरकारी तथा सार्वजनिक संस्था खारेज तथा मर्ज गर्ने, रोजगारीका नाममा अनुत्पादक लगानी भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा पनि भारी कटौती गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स