काठमाडौं । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएकोले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको हो।
भन्सारले १६ करोड ९४ लाख ४१ हजार रूपैंयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ रूपैंयाँ राजस्व सङ्कलन गरेको छ । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।
भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताए । ‘चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै सङ्कलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन’, उनले भने, ‘अहिलेको आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ?’
उनका अनुसार भन्सारबाट निर्यात भने शून्य जस्तै रहेको र भन्सारबाट आउने सबैभन्दा बढी हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ । उठेको राजस्व पनि सबै आयातीत सामानबाट सङ्कलन भएको हो ।
मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले १४ करोड २३ लाख ४८ हजार रूपैंयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा १५ करोड ८३ लाख सात हजार नौ सय ७३ रूपैंंयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको थारु बताए।
गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको थिएन । भन्सारले गत वर्ष पनि २० करोड ५८ लाख ६१ हजार रूपैंंयाँको लक्ष्य लिएकामा १० करोड ६७ लाख ९३ हजार छ सय चार रूपैंंयाँ राजस्व सङ्कलन गरेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५/७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ रूपैंंयाँ राजस्व सङ्कलन भएको थियो । भन्सारलाई नौ करोड रूपैंंयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।