काठमाडौं । विशेष अदालत पाटनले चुडामणी शर्मासँग ५० लाख धरौटी माग गरेको छ । सोमबार अदालतमा उपस्थित भएका कर फर्छ्यौट आयोगका सदस्य शर्मालाई अदालतले ५० लाख धरौटी माग गरेको हो । शर्मालाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
सूचित आदेश र कानुनको अख्तियारीको बदनीयतपूर्व प्रयोग गरी १ अर्ब ३३ करोड बक्यौता कर छुट दिएको’ पुष्टि भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।
’विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड घ बमोजिम प्रतिवादी चुडामणि शर्मा ढकालबाट पचास लाख रुपैयाँ धरौटी माग गरिएको छ,’ विशेष अदालतले आदेशमा भनिएको छ,’ सो माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके लिई निजहरुलाई तारेखमा राख्नु र सो दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (२) तथा दफा ८० बमोजिम थुनुवापूर्जी दिई कारागार कार्यालयमा पठाइदिनु…’
आदेशमा आयोगका सदस्य शर्मा समेतको निर्णयबाट विभिन्न करदाताहरुको कर मिनाह गर्दा बदनियतपूर्वक नियत राखेको प्रमाणहरूको आधारमा अदालतले यस्तो आदेश जारी गरेको हो । सोमबार भएको थुनछेक बहसपछि शर्मासँग पनि धरौटी माग गरिएको हो ।
शर्मा तत्काल फरार हुने अवस्था नभएको र प्रमाण नष्ट गर्ने अवस्था नरहेको जनाउँदै धरौटी माग गरिएको आदेशमा उल्लेख गरिएको छ ।