राजस्व चुहावटका ६ मुद्दा दायर,भीसिटिएसको अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ । विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका १ सय ९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ ।

दायर भइसकेका छ मुद्दामा आठ प्रतिवादीलाई ६४ करोड ३१ लाख बराबर सजाय माग दाबी गरिएको छ । यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ छ सूचना आएकामा पाँच मुद्दा दायर भएका छन् । छ जनाविरुद्ध ५२ लाख ३३ हजार बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ ।

वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ । आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स