सरकारले ५ खर्ब राजस्व उठायो, भन्सार आधा घट्यो, आन्तरिक भने सुधारमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व संकलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा ४ खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अर्धवार्षिक लक्ष्यको ७५.२० प्रतिशत बराबर हो । चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व संक्लन लक्ष्यभन्दा २४.८० प्रतिशत विन्दुले न्यून देखिएको छ । जबकी सरकारले गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । सरकारले संकलन गरेको राजस्वमा कुल राजस्व नपुग देखिएको छ । जसमा भन्सार राजस्व आधारले घटेको छ भने आन्तरिक राजस्वमा भने पुस महिनामा आएर सुधार भएको छ ।

सरकारको कुल राजस्व घटेपनि आन्तरिक राजस्व विभागले भने गत आवको पुसको तुलनामा यो पुसमा १ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ । विभागले गत आवको पुसमा जम्मा ७० अर्ब राजस्व संकलन गरेकोमा यो पुसमा ७१ अर्ब १३ करोड ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

‘गत पुसकोभन्दा यो पुसमा आईपुग्दा राजस्व १ अर्ब रुपैयाँले बढेको छ,’उनले भने ‘यो भनेको राजस्व संकलन सुधारको क्रममा रहेको हो ।’ अबका दिनमा क्रमश राजस्व बढ्दै जाने उनले बताए । विभागले पुस महिनामा ५१ अर्ब आयकर, ९ अर्ब ८ करोड मूल्य अभिवृद्धि कर, ८ अर्ब ९ करोड अन्तःशुल्क, १ अर्ब ७६ करोड ब्याजकर, ५९ करोड स्वास्थ्य सेवा कर र ४५ करोड घरवहाल कर संकलन गरेको छ ।

भन्सार विभागले यस आर्थिक वर्षको पुससम्म जम्मा ३ खर्ब १६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । सोमध्ये हालसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । पुस महिनामात्रै विभागले ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा जम्मा ३० अर्ब ३५ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको भन्सार विभागका सूचनका अधिकारी पुण्य विक्रम खड्काले बताए ।

‘सो राजस्वमध्ये १५ अर्ब रुपैयाँ भन्सार महसुलबाट संकलन भएको छ भने मूल्य अभिवृद्धि करबाट १३ अर्ब र अन्तःशुल्क शीर्षकबाट २ अर्ब राजस्व संकलन गरेको हो । भन्सार विभागले चालु आर्थिक वर्षमा जम्मा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ र हालसम्म सो लक्ष्यको जम्मा २८ प्रतिशतमात्रै संकलन भएको सूचना अधिकारी खड्काले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स