काठमाडौं महानगरपालिकाले पुस १५ सम्म करिब ४ करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा ४ अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड राजस्व संकलन गरेको थियो । कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजस्व संकलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए । यस आर्थिक वर्षको यो अवधिमा १७.६१ प्रतिशतले बढी राजस्व संकलन गरेको छ ।

बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन् । बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा पाँच सय र अधिकतम तीन हजार हुने निर्णय गरेको छ । जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ ।

सोही ठाउँमा बेल्डिङ मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स