सरकारले करमा विभेद गर्यो, ६ वटा उद्योगलाई पोस्दा २४ उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । रोलिङ मिल सञ्चालकहरूले कच्चा पदार्थमा लगाएको भन्सार महशुलको विषयलाई लिएर चर्को विरोध गरेका छन् । यस विषयलाई लिएर उनीहरूले विरोधमात्र गरेका छैनन् प्रतिस्थापन विधेयकले गरेको नयाँ व्यवस्थालाई उल्टाएर पुरानै व्यवस्था लागू गर्न माग समेत गरेका छन् । यस विषयलाई लिएर उद्योगीहरूबीच नै मत बाझिएको छ ।

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले आज सोमबार पत्रकार सम्मेलन गरी भन्सार मह्शुल दरमामा ‘भेदभाव’ भएको गुनासो समेत गरेका छन् । स्पञ्ज आईरनको भन्सार महशुल ‘जिरो’ मा झारेर आयातित विलेटको भन्सार महशुल ४.७५ प्रतिशत कायम गरिएकोले यो न्याय संगत नभएको एसोसिएसनका संस्थापक अध्यक्ष प्रदिपकुमार श्रेष्ठले बताए ।

साथै बिलेटमा अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ ६५ पैसाबाट बढेर २ रुपैयाँ ५० पैसा पुगेको छ । स्पञ्ज आइरन आयात गर्दा उद्योगीले अन्तःशुल्क तिर्नु नै पर्दैन ।

यो व्यवस्थाले दुईथरीका स्टिल रोलिङ उद्योगमध्ये स्पञ्ज आइरन प्रशोधन गर्नेलाई लाभ पुगेको छ भने बिलेट आयात गर्नेलाई भार थपिएको छ । सो कारण एसोसिएसनका अध्यक्ष साहिल अग्रवाल पत्रकार सम्मेलनमै उपस्थित भएनन् । उद्योगीहरूबीच मत बाझिएपछि उनी पत्रकार सम्मेलनमा नआएका हुन् ।

यसैबीच, बिलेट आयात गरेर स्टिलका उत्पादन तयार पार्ने उद्योेगीहरुले सोमबार ‘अनौपचारिक पत्रकार सम्मेलन’ आयोजना गरेर देशमा भएका ३० रोलिङ मिलमध्ये सरकारको नीतिले ६ वटालाई मात्र लाभ पुगेको र अन्य उद्योग बन्द गर्नुपर्ने स्थितिमा पुगेको पनि बताए । श्रेष्ठले त्यतिमात्रै भनेनन् सरकारले लिएको अहिलेको नीति कार्यान्वयन भएमा ९÷१० हजारको रोजगारी गुम्ने, राज्यले ४÷५ अर्ब राजस्व गुमाउने तथा लगानीको वातावरणको अन्त्य हुने समेत बताए ।

राज्यको विभेदकारी नीतिले ६ वटा उद्योग मोटाउन २५ उद्योगीको गला काट्ने काम राज्यबाट भएको एसोसिएसनका उपाध्यक्ष किरण शाखःले बताए । उनले यसअघिको नीति नै ‘ठीक’ भन्दै राज्य पुरानै करनीतिमा फर्कनुपर्नेमा जोड दिए । । सिमित व्यक्तिको लाभका लागि १ खर्बको उद्योग धरासयी हुने दाबी उनको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बिना छलफल ल्याइएको यस्तो नीतिले उद्योग गर्ने उद्यमीको मनोबल घट्ने बताए । नीतिगत अस्थिरताले लगानीको वातावरण सकिने उनले दावी गरे । ‘हामीले पटक पटक लगानीको वातावरण भन्दै आएका छौं,’ उनले भने ‘यस्तो नीतिले दीर्घकालमा उपभोक्ताको हित हुँदैन र ‘ सरकारले अस्थिर नीति ल्याएर उद्योगीलाई मार्नुहुँदैन ।’

देशमा सञ्चाालित स्टिल उद्योगहरुले दुई प्रकारका कच्चा पदार्थ आयात गर्दै आएका छन् । स्पञ्ज आइरन र स्टिल विलेट । स्पञ्ज आइरनलाई पुनः प्रशोधन गर्दा विलेट बन्ने गर्छ । जसबाट फलामे रड उत्पादन हुन्छ ।
हाल नेपालमा ‘५००डी’ ग्रेडको फलामे डण्डीको माग बढी छ । उक्त ग्रेडको डण्डी ठूला आयोजना तथा राष्ट्रिय गौरवका आयोजना निर्माणमा प्रयोग हुँदै आएको छ । स्पञ्ज आईरनबाट उत्पादित छडको गुणस्तर ‘५००डी’ जस्तो हुँदैन । सो गुणस्तर कायम गर्नको लागि प्राइम विलेटको नै चाहिने उद्योगीको भनाइ छ ।

देशमा वार्षिक २० लाख टन स्टिलको कच्चा पदार्थ आउने उद्योगी बताएका छन् । सोमध्ये तीन चौथाई बिलेट आयात हुन्छ । स्पञ्ज आइरनभन्दा बिलेट सरदर दोब्बर महँगो हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स