जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी संकलनबाट ४० लाख राजस्व संकलन गरेको छ । यहाँका आठ स्थानीय तहका जडीबुटी व्यापारीबाट सो राजस्व संकलन गरिएको हो । अरु स्थानीय तहभन्दा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छ ।
विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी संकलन हो । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार कोरोना महामारीकै बीचमा २० टन २०० क्विन्टल विभिन्न २० प्रकारका जडीबुटी संकलन तथा निर्यात गरिएको छ । त्यसमा धुपी साढे दुई टन निर्यात गरिएको छ । त्यसैगरी सेतक चिनी साढे दुई टन, चिराइतो नौ क्विन्टल, तितेपाती साढे दुई टन, सुनपाती तीन टन, पाखनबेद साढे दुई टन, सुगन्धवाला (सुमायो) एक टन पाँच क्विन्टल निर्यात गरिएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए ।
कार्यालयले ४० लाख राजस्व संकलन गरेकोमा जडीबुटीबाट २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरणबाट १० लाख ७६ हजार राजस्व संकलन गरिएको हो। यार्सागुम्बाबाट र १२ लाख ३० हजार, सेतक चिनीबाट र ४ लाख २० हजार, विषजराबाट १ लाख ४१ हजार, धुपीबाट र ७० हजार, कालादानाबाट ५५ हजार ३००, रातो च्याउबाट र ५५ हजार, पाखनबेदबाट १ लाख ८६ हजार, वन लसुनबाट २० हजार ५०० पदमचालबाट १७ हजार ५०० राजस्व संकलन गरिएको सूचना अधिकारी महतले बताए ।