कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए ।
उनीहरुबाट २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिए ।
त्यस्तै २०७८ वैशाख–पुससम्म काक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट ६ लाख १८ हजार राजस्व संकलन भएको थियो ।
वीरेन्द्रनगरस्थित प्रादेशिक सहिद उद्यान पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजस्व संकलन भएको छ ।
गत चैतसम्म अपर कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा नौ लाख ३३ हजार राजस्व संकलन भएको छ । गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकबाट रु तीन लाख ३१ हजार ८०० राजस्व संकलन भएको शाहीले बताए ।
साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट तीन लाख सात हजार राजस्व संकलन भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । ‘आगामी वर्ष २०७९/८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवद्र्धन र पूर्वाधारमा जोड दिएका योजना तथा कार्यक्रम बनाउँदैछौं’, उनले भने, ‘पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना छ ।’
कर्णाली घुम्न आउने ६० वर्षमाथिको उमेरकालाई हवाई उडानमा एक हजार छुट दिनेबारे पनि छलफल भइरहेको जोशीले बताए ।
प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले कर्णालीको पर्यटन विकास र आर्थिक समृद्धिका लागि नियमित हवाई उडान, कर्णाली र भेरी करिडोरको पूर्वाधार विकास भएकाले यसमा प्रदेश सरकारले आफ्नो अधिकार रहेर काम गर्नुका साथै संघीय सरकारसँग पहल भइरहेको बताए ।
प्रदेश सरकारले आगामी आवमा ती क्षेत्रको विकास गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने योजना बनाउने गरी अगाडि बढेको मन्त्री लामाले बताए ।