काठमाडौं । अब वागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । प्रदेश सरकारले सवारी साधनको कर/राजस्व भुक्तानी तथा नवीकरण विद्युतीय भुक्तानीमार्फत गर्न सकिने व्यवस्था गरेको हो ।
प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार बिहान ११ बजे यो सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवम् डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने बताइएको छ ।
वागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था शुरु गर्न लागेको हो ।
विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ ।
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तर बैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए ।