हेटौंडा उपमहानगरपालिकाद्धारा २२ करोड राजस्व संकलन

वाग्मती । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम संकलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व संकलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ संकलन गरिएको कार्यालयले जनाएको छ ।

पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८ हजार ६०० संकलन गरिएको हो । अन्य सेवा तथा शुल्क र बिक्रीबाट रु एक करोड ३९ लाख ७० हजार ६०९ संकलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट  दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि रु दुई करोड २४ लाख एक हजार ६९ कर संकलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व संकलन गरेको छ । स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र संघ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

यसैबीच हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा नदीजन्य पदार्थमा मात्र चार करोड ११ लाख १३ हजार संकलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार संकलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असुली गर्न बाँकी रु एक करोड ८८ हजार पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख संकलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट  १२ लाख ९५ हजार संकलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स