काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाकाको नेपालस्थित उत्पादक बोटलर्स नेपालले सरकारी निर्णयलाई अटेर गरेको छ । राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट बोटलर्स नेपालले कर छलि गरेको खुलासा भएपछि विभागले सार्वजनिक सूचना नै निकालेर राय तथा धारणा राख्न कम्पनीका भनेपनि सो समयसीमाभित्र कम्पनीका तर्फबाट कुनै धारणा आएको छैन ।
बोटलर्स नेपाललाई आफ्नो कम्पनीका तर्फबाट राय तथा धारणा राख्न विभागले गत बिहीबार पुस १ गते सात दिने सूचना प्रकाशित गरेको थियो । तर, सो समय सीमामा कम्पनीबाट कुनै राय नआएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
हिजो बिहीबारसम्म राय दिन भनेर कम्पनीका नाममा सूचना जारी गरेका थियौ,’ उनले भने ‘यो अवधिमा कम्पनीकातर्फबाट कुनै राय आएको छैन । अब आज शुक्रबार १ दिन केहि आउँछ कि भनेर कुर्छौ र नआए फर्सि आइतबार सरकारी वकिलको कार्यालयलाई पत्र लेख्छौं ।’ ‘सरकारी वकिलको कार्यालयबाट केहि डकुमेण्ट पुरा गर्न भनेर निर्देशन आएको थियो,’ उनले थपे ‘त्यहि डकुमेण्ट पुरा गर्नका लागि कम्पनीको राय मागेका थियौ, समय सीमाभित्र आएन, अब हामी अगाडि बढ्छौं ।’
यो प्रक्रियासँग विभागले बहुराष्ट्रिय कम्पनी कोका(कोलाकाको नेपालस्थित उत्पादक बोटलर्स नेपाल बालाजुलाई विपक्षी बनाइ उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्ने भएको छ । लामो समय लगाएर कम्पनीका सम्बन्धमा गरिएको अनुसन्धान पछि विभागले मुद्दा दर्ता गर्न लागेको हो ।
पछिल्लो पटक विभागले बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासान सहित १५ जनालाई ७ दिनभित्र उपस्थित हुन भनेको थियो । यसअघि पटक–पटक आफ्नो धारणा राख्नका लागि कम्पनीका सञ्चालकहरुलाई विभागले बोलाएकोमा कोही पनि सम्पर्कमा नआएकाले सूचना जारी गरेर मुद्दा दर्तामा जाने प्रक्रिया अघि बढाइएको हो । कम्पनीका सञ्चालक सम्पर्कमा आएको खण्डमा उनीहरको बयान समेत समेटेर मुद्दामा जाने तयारी विभागले गरेको थियो ।
विभागका अनुसार अनुसन्धानका क्रममा बोटलर्स नेपाल बालाजुले ठूलो रकमको राजस्व छलि गरेको भेटेकोे छ । राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ११ ‘क’ को उपदफा ४ अनुसार ७ दिने सूचना निकालिएको विभागले जनाएको छ । ७ दिनभित्र कम्पनीका सञ्चालकहरु विभागको सम्पर्कमा नआएको खण्डमा सोही ऐनअनुसार कम्पनीलाई कारबाही हुने विभागका महानिर्देशक पौडेलले बताए ।
विभागको अनुसन्धानबाट बोटलर्स नेपालले २ अर्ब रुपैयाभँन्दा बढी रकम बराबरको राजस्वमा हिनामिना गरेको खुलेको छ । अनुसन्धान अनुसार बोटलर्स नेपाल लिमिटेडमा रहेका विदेशी लगानीकर्ताहरूको सेयर अन्य विदेशी लगानीकर्ताहरुमा किनबेच हुँदा नेपाललाई पूँजीगत लाभकर नतिरेको भेटिएको हो ।
यसरी भएको सेयर कारोबारको जानकारी नेपाललाई नभएकाले झण्डै १ वर्ष पहिलेदेखि अनुसन्धान थालिएको विभागले जनाएको छ । विभागका अनुसार सम्बन्धित निकायलाई जानकारी नै नगराई कम्पनीको स्वामित्व परिवर्तन गरेको भेटिएपछि थप अनुसन्धान गरिएको हो ।
७५ प्रतिशत सेयर स्वामित्व झण्डै ७ वर्ष पहिले नै परिवर्तन भएको देखिएको पनि विभागले जनाएको छ । कम्पनीले यसका बारेमा समेत कुनै पनि निकायलाई जानकारी गराएको थिएन ।
यसरी स्वामित्व परिवर्तन हुँदा आयकर ऐन अनुसार २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भए पनि सूचना लुकाएर कम्पनीले राजस्व छली गरेको निष्कर्ष विभागले निकालेको छ । २०१४ मा अफ्रिकाको अफ्रिका बोटलिङ कम्पनी (साप्का) ले आफ्नो ७५ प्रतिशत सेयर स्वामित्व द कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रूपलाई बेचेको भेटिएको हो ।
यस क्रममा कम्पनीले २ अर्ब रुपैयाँ कर छली गरेको अनुसन्धानमा खुलेको हो । उक्त बेला नै २ अर्ब रुपैयाँ कर छली गरेकोमा ७ वर्षको अवधिमा जरिवाना जोडेर कर असुलीका लागि अदालतमा मुद्दा दर्ता गर्ने तयारी विभागले गरेको हो ।