गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजस्व संकलन गरेको छ ।
यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ८० लाख राजस्व संकलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए । उनका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम संकलन भएको हो ।
रजिष्ट्रेसन शुल्कअन्तर्गत संकलित कूल राजस्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसन बापत संकलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।