नाडाका अध्यक्ष कृष्ण दुलालले अर्थमन्त्रीसँग राखे आधा दर्जन माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्थमन्त्री जनार्दन शर्मासँग ४ माग राखेका छन् । नाडाको ४५ औँ वार्षिक साधारणसभामा अध्यक्ष दुलालले नीतिगत स्थिरतादेखि सरोकारवाला निकायमा नाडाको प्रतिनिधित्व, सवारी साधन खरिदमा लगाएको क्याप, व्याट्री उत्पादन गर्न करछुट तथा जुन प्रयोजनका लागि कर लिइएको हो सोमा खर्च गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।

राष्ट्र बैंकले सवारी खरिदमा ५० प्रतिशतको क्याप नहटाउनु व्यवसायीका लागि मात्रै नभई राज्य र उपभोक्ताका लागि पनि दुःखद भएको बताए । उनले सवारी खरिदमा उपभोक्ताले लिने कर्जामा ५० प्रतिशतको क्याप हटाउने र समयानुकुल संशोधन गर्ने बेला भएको भन्दै अर्थमन्त्री शर्माको ध्यान केन्द्रीत गराएका हुन् ।

‘राष्ट्र बैंकले सवारी खरिदमा ५० प्रतिशतको क्यापलाई निरन्तरता दिएको छ, अब यो संशोधन गर्ने बेला आयो’ उनले भने ।

सबैभन्दा बढी राजस्व (कुल राजस्वमा अटोमोबाइल्स व्यवसायीको योगदान २५ प्रतिशत छ) बुझाउने क्षेत्र भएपनि राजस्व परामर्श समितिमा नाडाको प्रतिनिधित्व रहने व्यवस्था नभएकोमा अर्थमन्त्रीलाई गुनासो गरे । ‘समितिमा नाडाको प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने ‘सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र पनि अटोमोबाइल्स क्षेत्र नै हो ।’

‘सर्वाधिक आयकर बुझाउने व्यक्ति पनि अटो व्यवसायी (टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणा) नै हुनुहुन्छ, तर रास्श्व परामर्श समितिमा नाडाको प्रतिनिधित्व छैन, हामीले लामो समयदेखि राजस्व परामर्श समितिमा नाडाको प्रतिनिधित्व हुनुपर्छ भनेर माग गरिरहेका छौँ ।’

अध्यक्ष दुलालले वातावरण प्रदूषण कर भनेर सरकारले उठाउने कर प्रदूषण कम गर्ने काममा मात्रै खर्च गर्नुपर्ने माग पनि गरे । त्यस्तै विद्युतीय सवारीका साधनमा प्रयोग हुने ब्याट्रीको उत्पादन नेपालभित्रै सम्भव रहेको भन्दै उनले यसका लागि आवश्यक वस्तु आयात गर्दा १ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गर्न पनि अर्थमन्त्री शर्मासँग माग गरे ।

नाडाले वर्षेनी अटो शो आयोजना गर्दै आएको छ । कोरोना महामारीका माझ पछिल्लो २ वर्ष शो हुन सकेको छैन । ‘नाडाले अटो शो गर्दा प्रयोग गर्ने गरेको भृकुटी मण्डपको हल सानो भएको छ,’ उनले भने ‘हामीलाई उचित स्थान उपलब्ध गराइदिनु पर्यो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स