हिजो गाउँको तस्विर अचम्मको थियो,
तरेली परेका पहाड, सुरम्य डाँडाकाँडा
गगन छोलान् जस्ता लरक्क परेका साल, सल्ला
र, विविध जडिबुटीले भरिपूर्ण घनघोर हरियाली जङ्गल
सुस्त सुस्त चल्ने स्वच्छ प्राकृतिक हावाको मधूर स्पर्श,
सिरसिर र मन्दमन्द जीवनदायिनी वायुको स्पर्श ।
तरेली परेका फाँट अनि समथर जिउला,
हावाको गतिसँगै लहलह झुलेको बाली,
छङ्छङ् बग्ने खोला
पानीसँगै छताछुल्ला भएको नि:स्वार्थ र स्वच्छ मन,
बगरमा चलेको चिसो सिरेटोको मीठो साउती ।
झुप्प परेको बस्ती,
ढुङ्गा, खरले छाएका घर,
आँगन, बारी,चौपाया, पीपल चौतारी,
पाटीपौवा, पधेँरा र बाटाघाटा,
टाढा टाढा घर तर मन नजिक,
अनेक घरमा एउटै परिवार जस्तो बस्ती,
अनेकतामा एकता र एकतामा अनेकता।
एक घरको समस्या सबैको समस्या,
एक घरको खुशी सबैको खुशियाली,
एउटाको खुट्टामा काँडा बिज्दा सबैको मुटु चस्कने,
अर्म-पर्म, सैसापटी, साझेदारी र भातृत्व,
अनुपम मिलन र गौरवशाली समाज।
आजको परिवर्तित गाउँको फेरिएको तस्विर,
हिजो जे थियो गाउँमा,
आज त्यो सबै छैन
परिवर्तनको वेला सबै खोज्न नि भएन
जंगल- रङ्गीचङ्गी र पहेंलपुर,
सिकारू कलाकारले आवेगमा रङ्ग पोते जस्तै
बाँदर लड्ने भीरमा डोजरको रजगज।
आज गाउँ सबै सर्ललक्कै शहर पस्यो,
शहर सबै खर्लप्पै विदेश पस्यो
युद्धका सिपाहीले किल्ला छोडेजस्तै
सक्ने जतिले गाउँ छोडे,
नसक्ने जति गाउँमै अलमलमा परे,
बारीमा झारपात र उजाड लाग्दा बुट्यान,
भगनावेशमा रूपान्तरित घर,
सियाली लागेका आँगन।
विकासका लागि राजनीति
र, राजनीतिका लागि विकास- गाउँले थेग्नु पर्यो,
गाउँ बिभाजित भयो- राजनीतिमा,
अनेकतामा एकता
र, एकतामा अनेकता- खलबलियो गाउँमा।
विकाससँगै गाउँले छलाङ मार्दा,
सपनामै हिड्यो गाउँ
आश्वासनमै भुल्यो गाउँ
कर्मशीलतामा खिया लाग्यो गाउँको,
शहर थेग्ने, शहर बोक्ने गाउँ आज
युद्ध हारेको लडाकु झैं,
ऊर्जाविहिन छ,
अथाह शक्ति र ताकत बोक्ने गाउँ,
आशा र भरोसा मरेको छ,
अवसरमा पछि परेको छ।