मेरो घरको उहिलेको लिस्नुको कथा यो,
तलदेखि माथिसम्मको काठको खाँबो
बिचबिचमा कपेर खुड्किला पारिएको
म त्यहीँ टेकेर कति तल-माथि गरें,
त्यसको कुनै हिसाब किताब छैन मसँग,
लिस्नु मैले माथि चढ्न,
उपल्लो तला जान टेकें,
हो, मैले सक्दो टेकेँ, भरपुर प्रयोग गरेँ ।
लिस्नु अर्थात भर्याङ,
सधैं माथि चढाउने नि:स्वार्थी साधन,
जसले कहिल्यै सोधेन- मैले किन कुल्चेँ
कति पटक माथि चढेँ, माथि गएर के गरेँ
के-के नयाँ नयाँ चीज देखेँ
र, को-कोलाई भेटेँ,
अनि के-के फाइदा उठाएँ,
माथि चढेर कति शान-मान भेटेँ,
आफूलाई आफै कति ठूलो मानेँ
कति सुरक्षित भएँ, कति अवसर भेटेँ
ख्याति, सम्मान, पद, प्रतिष्ठा, कति भेटेँ
उन्नति, प्रगति कति गरेँ,
लिस्नुलाई कुनै मतलव छैन ।
लिस्नु- एक निर्जीव काठ हो,
घाम-पानी, चिसो-तातो,
वर्षा-गर्मी, आँधी-हुरी-वतास,
कुनैको प्रवाह छैन,
जो आउँछ काँध थाप्छ, बोक्छ,
बस् सहन्छ, जहाँको त्यहीँ ठडिन्छ काँध थापेर ।
हिजो यहीँ लिस्नु मेरो आशा भरोसा थियो,
सहयोगी थियो, हौसलाको आधार थियो,
माथि चडाउने, अगाडि बढाउने
कठीन र अग्लो ठाँउमा पुर्याउने
समस्या, कठीनाइ, दु:ख, कष्टलाई पार लगाउने,
म कमजोर भएको वेला माथि चढ्न सहारा दिने,
यही एउटा लिस्नु थियो ।
लिस्नु पुर्खाको चिनो,
इतिहास, सभ्यता, संस्कृति, परम्परा,
अनि रीतिरिवाज, मूल्य-मान्यता सबै लिस्नु हुन्
जसले हामीलाई अधि बढ्न सघाइरहेका छन्,
माथि चढाइरहेका छन् ।
लिस्नुको कथा म जस्तै सबै मान्छेको साझा कथा हो,
सबैले लिस्नुलाई सक्दो उपयोग गरेका छन्,
कोही पनि अछुतो छैन यो कथाबाट ।
आजकाल लिस्नु टेकेर⁄कुल्चेर माथि जाने मान्छे,
लिस्नुलाई विर्सन्छ,
हो साँच्चि,
चढेपछि लिस्नु बिर्सन्छ मान्छे
माथिको शान-मान, पद, प्रतिष्ठाले उन्मत्त मान्छे,
लिस्नुलाई फर्केर हेर्दैन फेरि ।
जब लिस्नुले मान्छेलाई बोक्यो,
माथि उठायो, उच्च स्थानमा पुर्यायो,
पद, प्रतिष्ठा, शान-मान, उन्नति-प्रगति
अनि समृद्धि र आत्मसम्मान दिलायो,
तब मान्छेलाई लिस्नु विरानो भयो ।
लिस्नु टेकेर उच्च स्थानमा जाने निरिह मान्छे,
लिस्नुकै भरमा शान देखाउने, विगत बिर्सने मान्छे,
लिस्नुकै टेकोको कारण प्राप्त क्षणिक स्थानले जब छोड्छ,
परिस्थितिमा कम्पन आउँछ,
झर्न नि लिस्नु नै चाहिने अवस्था हुन्छ,
अनि झल्यास्स हुन्छ विचरो मान्छे,
तब फेरि खोजी गर्छ आफू चढेको लिस्नु,
वैश्य युगमा कम स्वार्थी छैन मान्छे ।
हिजो लिस्नु फालेको, कुल्चेको, विर्सेको, वास्ता नगरेको
झलझली तस्विर नाच्छ स्मरणमा,
अनि पछुताउछ मान्छे,
अनि सहायता माग्छ मान्छे
आखिर सत्य त धर्ती नै हो,
जसले आधार दिन्छ, शरण दिन्छ,
एक दिन तल झर्नु नै छ,
महान् धर्ती टेक्नु नै छ,
तलबाट माथि चढ्न होस्
वा, माथिबाट तल झर्न होस्,
तल-माथिको संगम हो लिस्नु,
धर्तीसँगको सम्पर्क सेतु हो लिस्नु ।