मूर्ति मन्दिरमा प्रतिस्थापन हुन्छ
निर्जीव, अचल र भाव-भावनारहित
विराजमान छ अटल र अगाध विश्वाससहित।
मूर्ति जहाँ प्रतिस्थापन गर्यो त्यहीँ रहन्छ,
न चल्ने शक्ति छ यसमा
न प्राण छ,
छ त खाली ईश्वरको शान र मान।
मूर्ति सास फेर्दैन,
मूर्ति कसैको कुभलो गर्दैन,
सद्भाव, उपकार, सहयोग, सहृदयता छ कि छैन ?
खै, प्रत्यक्ष देख्न सकिन्न,
तैपनि सबैको अगाध विश्वास बोक्छ,
सबैले मान, सम्मान गर्छन्,
मूर्तिले सबैको भावनाको प्रतिनिधित्व गर्छ ।
मूर्ति मान्छेले बनाउँछ र ईश्वर मान्छ
ईश्वर मान्छेले बनाउने भए
मान्छे के हो,
महाईश्वर ?
वा, ईश्वरको निर्माता ?
अथवा, ईश्वरको भाग्यविधाता ?
ईश्वरको मूर्ति मान्छेले बनायो
वा मान्छेले ईश्वर बनायो!
ईश्वरको मूर्ति बनाउने मान्छे
आजकल मूर्ति जस्तै छ,
सेवाभाव, सद्भाव, समानुभूति शून्य ।
मान्छे सास फेर्छ अरूको लागि
चल्छ मालिकको इसारामा,
कुर्सीमा बस्छ मालिकले जुन कुर्सीमा बसाउँछ
निगाहमा पद, हैसियत बोक्छ
अनि भ्रममा पार्छ र मान खोज्छ,
हैसियत बिर्सेरै शान दिन्छ।
मान्छे आफ्नो ल्याकत, योग्यता, क्षमता बिर्सेर
क्षणिक फाइदाको पछि दौडिएको छ,
राम्रो- नराम्रो,
मिल्ने-नमिल्ने
गर्न हुने- गर्न नहुने
राय शून्य मान्छे।
गलत र सही नछुट्याउने,
जिम्मेवारी पूरा नगर्ने,
मालिकका लागि जे पनि गर्ने,
आफ्नो विवेक प्रयोग नगर्ने
माथि हेर्ने र इसारा कुर्ने
निर्जीव मूर्ति नै छ मान्छे
तर सजीवको अभिनय गरिरहेको छ ।
कस्तुरीले आफूभित्र भएको बिना नचिने झै
मान्छेले आफूभित्रको मान्छे नचिन्दा,
मन, विवेक, ल्याकत प्रयोग नगर्दा,
क्षणिक स्वार्थको पछि दौडिएको छ
जीवन भएको निर्जीव मूर्ति बनेको छ मान्छे
जसप्रति कसैको मान, सम्मान छैन
भरोसा, विश्वास, आस्था छैन
हो, हैसियत शून्य मूर्तिवत् भएको छ मान्छे ।