गाउँको कथा हो यो,
सीमखानीमा ठडिएको गोगनको रूख
गोगनको रूख मुनि पानीको ठूलो मुल
भकभक भकभक, भुलभुल, बुलबुल
निरन्तर पानी बगिरहेको छ
जसरी देशमा सपना र आश्वासन बगिरहेका छन्,
मुलको तल गाईभैसीले पानी पिउने पोखरी,
अलि पर बडेमानको आँपको रूख,
अनि गिठो, काउलो, जामुन, खनियो
र यस्तै यस्तै अरू रूखहरू।
एक किसिमको डर लाग्दो झाडी,
झाडीभित्र पसेपछि हत्तनपत्त केही नदेखिने,
र विषालु सरिसृपबाट जताबाट पनि आक्रमण हुन सक्ने,
असुरक्षित देशको अवस्था जस्तो।
यतै कतै थियो रे बैँसको रूख,
म सानो छँदा देखिनँ बैँसको रूख,
वा चिनिन, कसैले यही हो भनी चिनाएनन्
मैले नि खोजिन, चिन्न कोसिस नि गरिन
बैँसको रूख नचिनेरै “बैँसारूखे” को
पहिचान⁄चिनारी पाएको म।
जे होस्,
म सानो थिएँ बैँसको रूख थियो रे
मैले चिनिन
म ठूलो भएँ⁄बैँसालु भएँ
बैँसको रूख छैन,
मैले चिन्ने अवसर पाइन
म सहरमा हराएँ आफै
बैँसको रूख गाउँमा हरायो।
कता हरायो,
सुक्यो वा ढल्यो
कुहियो कि,
रूपान्तरण, समानता, हक, अधिकार खोज्दै
र पहिचानका लागि हिडेका हुलका हुल
डफ्फाका डफ्फा मान्छेहरू यतै आएका थिए रे
पकाउने खाने रासोबसो यतै थियो रे
कतै तिनीहरूले भाँचे कि!
कि दाउरा बाल्न बैँसको रूख नै ढाले
पहिचान खोज्दै हिड्नेले
कतै मेरो चिनारी पो मेटाए कि!
भेट्न पाए सोध्न हुन्थ्यो,
भेट्न नि कहाँ पाउनु,
भेटिहाले पनि कसरी चिन्नु
देश बदल्ने भनेकाले
आफ्नै भेष बदलेपछि।।