म लीला हेरिरहेछु

आकासमा कालो बादल मडारिदैछ
गड्याङगुडुङ्ग डर लाग्दो आवाज,
झल्याकझुलुक विजुलीको चम्काइ,
निर्दयी हावा जोडले चलिरहेछ,
मानौं, उसलाई विश्व दौड जित्नुछ
वा संसारकै बलियो भनी देखाउनुछ,
अथवा, कुनै शून्य स्थानमा कब्जा जमाउँनुछ।
हावा त हावा नै हो,
यसको न कुनै भर छ न कुनै डर
नैतिकता शून्य, दया, माया, मानवता शून्य
यसको घर्म बहनु मात्र हो,
त्यसैले बहन्छ जता पनि।
चराहरू यताउता उडिरहेका छन्
हावासँगै बत्तालिदै र संघर्ष गर्दै,
चिरविर चिरविर भुर्रर भुर्रर डर र भयसँगै,
यता उड्छन् उता उड्छन् निर्दयी हावाकै गतिमा,
रूख पनि मडारिदै छन्, हल्लिदै छन्
मानौं, अहिल्यै भाँचिदैछन्
विचरा चरा बस्ने ठाउँ छैन, अडिने डाली छैन
न त छ गुँड, न वास, न शान्ति,
छ त डर, त्रास, संशय, भय
र भयङ्कर कहाली लाग्दो आतस।
बडेमानको बुढो रूखको आडमा छु म,
र हेरिरहेको छु,
त्यो अदभूत, विकराल, कहाली लाग्दो,
र अनिश्चित अवस्था,
निरिह छु
मन्सिएको अबोध बलिजस्तै
यमराजको पञ्जामा परेको
मृत्यु शैयामा पुगेको प्राणीजस्तै,
न हावा रोक्न सक्छु
न त सक्छु आकास नै छेक्न
न दिन सक्छु आश्रय,
सबै भएर पनि केही नभएजस्तो भएको छु
डराई डराई हेरिरहेको छु प्रकृतिको लीला,
लीला, न्याय वा अन्याय छुट्याउनै सकेको छैन
छुट्याएर नि के गर्नु,
प्रकृति शक्तिको अगाडि शून्य शक्तिको म मानव।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स