ठूलो भित्तोमा सेताम्या रङ्ग पोतिएको छ,
र, झुण्ड्याइएको छ ठूलै ऐना
मान्छेहरू आउँछन्
ऐना हेर्छन् मुस्कुराउँछन् जान्छन्,
फेरि अरू आउँछन् यसैगरी जान्छन्,
यो क्रम निरन्तर चलिरहेको छ,
सायद आफूलाई सबैले सोचेजस्तै पाए,
र त फेरिफेरि आए।
मान्छे भन्ने जातलाई
खालि बाहिरी रूप मात्र कति राम्रो देखिनु परेको,
कति सुन्दर र आकर्षक छु भन्नु परेको,
म, सोचमग्न हुन्छु।
ऐना! हो सचित्र देखाउने पारदर्शिताको अनुपम वस्तु,
ऐनामा मान्छेको जस्तो कुनै छलकपट छैन
ऐनाले छुट्टयाउँदैन-
नातावाद, कृपावाद
आफ्नो, पराइ
ठूलो, सानो
धनी, गरिब
र, राम्रो नराम्रो,
सबैलाई समान व्यवहार गर्छ ऐना।
त्यसैले मान्छे हेर्छ-
राम्रो छु कि छैन
लगाएको मिल्यो कि मिलेन
अनि हेर्छ आफ्नै व्यक्तित्व।
ऐनाले देखाइदिन्छ-
साक्षात, हुवहु, सादृष्य
गोरोलाई गोरो।
कालोलाई कालो।
ऐनामा कस्तो शक्ति⁄अदभूत शक्ति छ
अलिकति पनि फरक नपारी देखाइदिने
दुरुस्त, उस्तै, उही, रत्तिभर फरक छैन
रौं बराबर तलमाथि होइन,
कस्तो निष्पक्षता, विवेकशीलता र वस्तुनिष्ठता।
मलाई लाग्यो-
ऐनाले नैतिक र अनैतिक छुट्याउने भए,
मनमैलो, दोष, ईश्या, कुलत, निष्ठा, सदाचारिता देखाउने भए
मनभित्रको कालो⁄कलुष देखाउने भए
के मान्छे यसरी नै घरिघरि ऐना हेर्थ्यो?
अझ, के मान्छे घरमा ऐना सजाउँथ्यो?
मलाई ऐनासँग सोध्न मन लागेको छ,
के तिमी मनदोष नदेखाएकैले प्रिय भएका हौ?
अथवा, प्रिय मानेकै गुण तिर्न मनदोष लुकाएका हौ?