मान्छे उकालो लागि सके
म डुङ्गा खियाउँदै छु
उनीहरू जङ्घार तरिसके
बगर चियाउनु र डुङ्गा खियाउनु
नियति हो वा प्रेम
अथवा, हो परिवर्तन हुन नसक्नुको वाध्यता
म छुट्याउन सक्दिन ।
बगरमा खोलाको सुगन्ध छ,
र छ जीवनदायिनी पानीको सुष्मता
अनि छ कलकल बग्ने पानीको मधूर संगीत
र कतैकतै सियालीको अवशेष ।
बगर खोला तर्न नसक्नेको अस्थायी आश्रय हो
तीतेपाती, जलुको, घाँस, दुवो र यस्तै झारपात
उम्रने, फल्नेफुल्ने स्थल बगर
तटीय प्राणीको वासस्थान,
र सबैको विसाउने अन्तिम गन्तव्य ।
डुङ्गा निरन्तरताको प्रतीक
वारि र पारि जोड्ने संयोजक
दुई किनारको मध्यस्थताको संगम
र खोला तर्न नसकी निरिह भएका,
भौतारिएका,
असहाय, कमजोर भएका,
खोलासँग हार स्वीकार गरेका,
सबैको ऊर्जा हो डुङ्गा,
यो उद्धारक, उत्प्रेरक हो ।
त्यसैले, मलाई बगरको अगाध माया छ,
डुङ्गाको माया छ
र छ, स्थानको माया ।
बगर र डुङ्गासँग मेरो विगतको
इतिहास छ, पहिचान छ,
मलाई यसैमा गर्व छ।
अनि त म बगर चियाउँदै छु,
डुङ्गा खियाउँदै छु ।