कहाँनेर कमजोरी भयो गुरु (कविता)

इन्द्रबहादुर देवकोटा  (लेखक)
आफ्नो हातले मेरो हात समातेर,
लेख्न सिकाउनु भयो,
धेरै अक्षर त बालुवामै औंलाले कोरेर
सिकाउनु भयो,
हरेक दिन प्रत्येक पल
औंला ठड्याई ठड्याई
अर्ति, उपदेश दिनुभयो
आफूले जानेको सर्लक्कै सिकाउनुभयो-
नैतिकता, अनि अनुशासन, इमानदारिता,
र, लगनशीलता, सत्यवादिता, सदाचारिता,
अनि देश प्रेम, राष्ट्रभक्ति, कर्तव्य,
त्यस्तै, आचार-व्यवहार र संस्कार सिकाउनुभयो
र, भन्नुभयो यी नभई जीवन चल्दैन,
जीवन मर्यादित हुँदैन,
अझ जोड दिएर भन्नु भयो,
यी गुण, सीप, कला कौशलले
सधैँ प्रगतिपथमा अगाडि बढाउँछन्
यी व्यक्तिका अमूल्य र हर क्षणसाथ दिने आभूषण हुन्।
खै त गुरु,
हजूरका ती शिक्षा
अहिले बजारमा बिकेका
अमूल्य भनी हजूरले सिकाएका
मूल्य-मान्यता समाजमा टिकेका।
जीवनका अमूल्य आभूषण भनेका
ती असल पक्षहरूले महत्त्व पाएका,
गरिमा राखेका
र, कर्मलाई सिँगारेका,
प्रगतिलाई उचालेका ।
कसले लगायो खिया यी अमूल्य आभूषणमा,
कसले घटायो यिनको महत्त्व
हजूरलाई एकपटक पनि सोधेन है !
हजूरले पढाउँदा भविष्य अनुमान गर्न सक्नुभएन कि,
वा, मैले वर्तमानलाई बुझेर
हजूरका शिक्षालाई परिवर्तन गर्न सकिन ?
मैले पाएको शिक्षाले काम देला जस्तो मानिन
नयाँ शिक्षा मैले जानिन ।
भन्नुहुन्थ्यो- ठूलो मान्छे बन्छस्,
असल बन्छस्
र परिवार, गुरु, समाज अनि देशको नाम राख्छस्
म हजूरले भनेजस्तो ठाउँमा पुग्न सकिन गुरु,
भनौं, मलाई पुग्नै दिएन समय परिस्थितिले,
किनकि, म परिवर्तन हुन सकिन
हजूरको शिक्षादिक्षा बिर्सन सकिन
गुण, इमान र जमानलाई बिर्सेर
म झर्न सकिन तल तल रसातलमा
सम्झौता गर्न सकिन
व्यक्तिगत फाइदा, स्वार्थका लागि
र मैले लाज पचाउन सकिन,
वस्त्र लाएको ढोंङमा सर्वाङ्ग हुन सकिन ।
हो गुरु,
अहिलेको अवस्थामा म अप्ठ्यारोमा छु,
नातावाद, कृपावाद र आफ्नो मान्छे मात्र योग्य हुने ठाउँमा,
हजूरले सिकाएको
साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा बराबर वान
हुन्छ भनी कसरी प्रमाणित गरूँ,
योग्यताको कदर हुने भए
गणितको सूत्र झै उत्कृष्ट एक छनौट हुन्थ्यो,
व्यक्तिगत फाइदा मात्र हेर्ने
पैसाको लोभ, लालच र स्वार्थमा जे पनि गर्ने समाजमा
सदव्यवहार, सद्गुण देखाएर
न्युटनको गतिको तेस्रो नियम कसरी लागु गरूँ ?
असल नियतको प्रतिकृयामा धोका, वेइमानी, छलकपट
कहाँ गयो न्युटनको नियम ?
यो जटिल र कठिन सामाजिक संरचनामा
ए प्लस बी को होलस्क्वायर कसरी खोलुँ?
पैसा भए सबै हुने अवस्थामा,
पाईको भ्यालु बाइस वाइ सात- कहाँ जोडूँ
त्यसैले त, म बडो अन्यौलमा परें गुरु!
रूखबाट खसेको स्याउको दाना खान छोडेर
यो किन तल खस्यो, माथि किन गएन भन्ने न्यूटन जस्तै,
छेपारोले रङ्ग फेरेको हेरेर बसेँ म,
आफूले रङ्ग फेर्न सकिन ।
म गुरुलाई नढाटेर भन्दैछु,
म हजूरले भनेजस्तो बन्न सकिन,
परिस्थतिलाई चिन्न सकिन,
यही मेरो कमजोरी रह्यो सायद !
मेरो कमजोरी कि हजूरको शिक्षा असान्दर्भिक,
त्यतिखेर हजूरले भोलि चिन्न सक्नुभएन,
पछिको समाज आँकलन गर्न सक्नुभएन,
मैले पनि सोध्न सकिन,
हजूरले सिकाएका आदर्श,
गणितका सूत्र र विज्ञानका सिद्धान्तहरू
भोलि कहाँ र कसरी लागु हुन्छन् भनेर,
सोध्नुपर्थ्यो खै किन सोधिन
एकहोरो आज्ञाकारी भएर सुनिरहे,
र, त समकालीन पर्यावरण चिन्न सकिन,
यहीँनेर मेरो कमजोरी भयो गुरु !!

प्रतिक्रिया

1 COMMENT

  1. उत्कृष्ट कविता ! वर्डस्वर्थले भने जस्तै overflow of powerful emotions! आधुनिक कवितामा भावनालाई कल्पनाले रंग्नु पर्दैन, मलाई लाग्छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स